हेभी सवारीको लाइसेन्स लिन २ वर्ष कुर्न नपर्ने | १७ सवारीका लागि सिधै लाइसेन्सको व्यवस्था
काठमाडौं । हेभी इक्विपमेन्टको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन २ वर्ष कुर्न नपर्ने भएको छ । मंगलवारदेखि हेभी सवारीसाधनको सिधै लाइसेन्स लिन पाउने गरी आवेदन खुला गर्न लागेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।
यसअघि हेभी इक्विपमेन्टका लागि साना सवारीसाधनको लाइसेन्स लिएको दुई वर्ष भएकै हुनुपर्ने बाध्यकारी व्यवस्था रहेको थियो । गत फागुन १४ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साना सवारीसाधन चलाएको दुई वर्षपछि मात्रै मझौला र ठूला सवारीसाधनको अनुमतिपत्र (लाइसेन्स) वितरण गर्ने व्यवस्थालाई पहिलोपटक संशोधन गरेको हो ।
सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ संशोधन गर्दै पहिलो पटक सिधै हेभी इक्विपमेन्टको लाइसेन्स लिन पाउने व्यवस्थालाई राजपत्रमा प्रकाशित गरेको हो । प्रशिक्षण केन्द्रबाट नै हेभी इक्विपमेन्टका दक्ष चालकहरू उत्पादन भइरहेकाले विकास निर्माणको काममा अत्यावश्यक ठूला इक्विपमेन्ट चलाउने चालकलाई साना सवारीसाधन सिक्नैपर्ने बाध्यात्मक नियम हटाइएको यातायात व्यवस्था विभागले बताएको छ ।
पुरानो व्यवस्थाका कारण अहिले बजारमा हेभी इक्विपमेन्ट चलाउने अपरेटरको अभाव छ । पुरानो व्यवस्थाका कारण ७५ प्रतिशतभन्दा बढी अपरेटर लाइसेन्सविहीन रहेको विभागले जनाएको छ । मासिक रूपमा ५० हजारभन्दा बढी कमाइ हुने यो अत्यावश्यक पेशामा दक्ष जनशक्तिको अभाव छ । यो अभावलाई कम गर्नका लागि नयाँ व्यवस्थाले सहयोग गर्ने विभागकको भनाइ छ । अहिले परीक्षणको काम भइरहेकाले मंगलवारसम्ममा आवेदन खुला हुने बताइएको छ । १७ प्रकारका हेभी इक्विपमेन्टमध्ये पाँच प्रकारका इक्विपमेन्टको लाइसेन्समा क्याटेगोरी नभएकाले अन्यमा राखेर मिलाइएको विभागको भनाइ छ ।
लाइसेन्स खुल्न लागेका हेभी इक्विपमेन्ट
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार साना सवारीसाधनको लाइसेन्स नै नलिएको भए पनि अधिकांश हेभी इक्विपमेन्टको लाइसेन्स लिन पाउने व्यवस्था गरेको छ ।
सरकारले राजपत्रमा प्रकाशित गर्दै डोजर, मोबाइल क्रेन, विटुमिन डिस्टिब्युटर, मिनी डम्पर, एक्साभेटर, फोर्क लिफ्ट ट्रक, मोटर ग्रेडर, चिप्स स्पेडर, लोडर, पाइल ड्राइभर, रोड मार्किङ मेशिन, रोलर, ट्रेलर ट्रयाक्टर गरी १७ प्रकारका हेभी इक्विपमेन्टको सिधै लाइसेन्स लिन पाउने व्यवस्था गरेको छ ।