चीनबाट आएको सामान आजनै प्रदेशमा पुग्ने |
काठमाडौं । नेपाल सरकारले चीनबाट खरिद गरेको तथा ‘ज्याक मा’ फाउण्डेसनबाट प्राप्त भएको मास्क तथा पीसीई आज (सोमबार) बिहान प्रदेशमा पठाइने भएको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठका अनुसार ती मास्क र पीपीई तथा त्यससँग सम्बन्धित उपकरणहरु सोमबार बिहान हेलिकोप्टर मार्फत् प्रदेशमा पठाइन लागिएको हो ।
ती सामग्रीमध्ये अधिकांश सामग्री विमानस्थलबाटै प्रदेश सरकारलाई पठाउन लागिएको हो । त्यसका लागि आइतबार साँझ त्रिभुवन विमानस्थलमा सामान छुट्याउने काम भइरहेको छ ।
विभागका महानिर्देशक श्रेष्ठका अनुसार अहिले तत्कालका लागि प्रत्येक प्रदेशमा ५–५ हजार थान एन ९५ मास्क र एक–एक हजार थान पिपिई पठाउन लागिएको छ । त्यसका लागि नेपाली नेपाली सेनाको हेलिकप्टर प्रयोग गर्ने वा अन्य हेलिकोप्टर प्रयोग गर्ने भन्नेबारे छलफल भइरहेको छ ।
ल्याबका सामान भने तत्कालै नपठाइने
विभागका महानिर्देशक श्रेष्ठका अनुसार तत्काललाई एन ९५ मास्क, सर्जिकल तथा पीसीई पठाउन लागिएको भएपनि कोरोना परीक्षणमा प्रयोग हुने ल्याबका मेसिन तथा उपकरण भने तत्कालै नपठाइने भएको छ ।
ल्याबका लागि ल्याइएको मेसिनको परीक्षण (टेष्ट) गर्नुपर्ने र ल्याबका तालिमप्राप्त जनशक्ति पनि पठाउनुपर्ने भएकाले मेसिन, कर्मचारी तथा उपकरण पठाउन केही दिन लाग्नेछ । श्रेष्ठका अनुसार ती सामान र जनशक्ति ३ वा ४ दिनपछि मात्रै प्रदेशमा पठाइने छ ।
शिक्षण अस्पताल तथा ठूला अस्पतालमा विभागले छुट्टै पठाउने
कोरोना भाइरससँग जुध्न आवश्यक उपकरण तथा स्वास्थ्य सामाग्री केही शिक्षण अस्पताल तथा ठूला निजी अस्पताललाई पनि दिइने विभागले जनाएको छ । त्यसका लागि भने विभाग आँफैले अस्पतालहरु छनोट गरी पठाउने तयारी गरेको महानिर्देशक श्रेष्ठले बताएका छन् ।
श्रेष्ठका अनुसार हाल सरकारसँग पर्याप्तमात्रामा एन९५ मास्क रहेको छ । पिपिईको सङ्ख्या केही कम भएको भएपनि ती सामाग्री पनि केही दिनमा थप आउने भएकाले तत्कालका लागि आवश्यक सामाग्रीहरुको चिन्ता गर्नुपर्ने अवस्था रहेको छैन ।
Visited 1 times, 1 visit(s) today