चीनबाट ल्याइयो एक लाख पिपिई र ५० हजार परीक्षण किट |
काठमाडौं । चीनबाट मेडिकल सामग्री ल्याइएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको वाइडबडी जहाजमार्फत चीनको ग्वाङजाओबाट मेडिकल सामग्री नेपाल ल्याइएको हो ।
मेडिकल सामग्री बोकेर आएको वाइडबडी जहाज आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको निगमले जनाएको छ। उक्त जहाज आज बिहान ५ बजे काठमाडौँ आइपुगेको थियो ।
औषधि उपचारजन्य सामग्री लिन निगमको वाइडबडी जहाज शनिबार दिउँसो ग्वाङ्जाओ गएको थियो । निगमका अपरेशन विभाग प्रमुख दीपु जुहार्चनका अनुसार ग्वाङ्जाओबाट करिब १३ हजार स्वास्थ्य सामग्री ल्याइएको छ ।
जुहार्चनले निगमका लागि शनिबार विशेष दिन भएको सामाजिक सञ्जाल फेसबुकमा ‘स्टाटस पोष्ट’ गरेका छन् ।
उनले देश लकडाउनको अवस्थामा शनिबार निगमले बिहानदेखि लुक्लामा अलपत्र ७० विदेशी पर्यटकको उद्धार, नेपालगञ्जबाट कोभिड–१९ का स्वाब नमूना ल्याई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण र चीनको ग्वाङ्जाओबाट लगभग १३ हजार केजी स्वास्थ्य सामग्री एयरलिफ्ट गरी काठमाडौँ ल्याएको बताएका छन् ।
वाइडबडी जहाजले कोभिड–१९ परीक्षण गर्ने किट र पिपीइलगायतका औषधिजन्य सामग्री ल्याएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले अत्यावश्यक औषधि र अन्य मेडिकल उपकरण ल्याइएको जानकारी दिए। एक लाख पिपीई, ५० हजार कोभिड परीक्षण किट तथा व्यक्तिगत सुरक्षा उपकरण ल्याइएको उनले बताए ।
(रासस)