नेपालमा कोरोना भाइरस फैलिएको भन्दै अडियो क्लिपमार्फत अफवाह फैलाउने पक्राउ | युवकको बयान-‘रिच र इंगेजमेन्ट’ बढाउन यस्तो गरे
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड) १९ को संक्रमण फैलिएको र केही व्यक्तिको मृत्यु समेत भएको भन्ने आशयको अडियो रेकर्ड गराएर सामाजिक सञ्जालमा भ्रम फैलाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछाप घर भइ हाल भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवक थापा मगर रहेका छन् ।
उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो ।
उनले राजधानीको एक अस्पतालमा कोरोना संक्रमितको मृत्यु भइसकेको तर यसबारे सरकारले सूचना लुकाएको आफूले जानकारी पाएको अफबाह फैलाएका थिए ।
अफबाहपूर्ण सो अडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म नेपालमा एक जनामा पनि देखिएको छैन । तर, सरकारले संक्रमण भित्रन सक्ने भन्दै उच्च सावधानी अपनाएको छ।