कोरोना भाइरसबाट एकैदिन एक हजार बढीको मृत्यु | बिहीबार नै विश्वभर २६ हजार २ सय ५१ जना कोरोना भाइरसका नयाँ संक्रमित देखिए
कोरेना भाइरसबाट विश्वमा एकैदिन एक हजार बढीको मृत्यु भएको छ भने १० हजार बढी नयाँ संक्रमित थपिएका छन् । कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको उहानमा देखिएपछि एकैदिन यति धेरै जनको मृत्यु र संक्रमित थपिएका हुन् ।
पछिल्लो तथ्याङ्क अनुसार बिहीबार एकैदिन विश्वमा कोरोना भाइरस संक्रमणका कारण एक हजार ९० जनाको मृत्यु भएको छ । बिहीबार नै विश्वभर २६ हजार २ सय ५१ जना कोरोना भाइरसका नयाँ संक्रमित देखिएका छन् ।
बिहीबारसम्म विश्का १ सय ७९ देश तथा भूभागमा कोरोना भाइरसका संक्रमित देखिएका छन्। हालसम्म २ लाख ४५ हजार ७३ जनामा कोरोना भाइरस देखिएको छ, जसमध्ये १० हजार ४१ जनाको मृत्यु भइसकेको छ। हालसम्म संक्रमितमध्ये ८८ हजार १ सय ५१ जना उपचार पश्चात निकोभई अस्पतालबाट घर फर्केका छन्।
पछिल्लो तथ्याङ्क अनुसार बिहीबार कोरोना भाइरसबाट सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ। संक्रमितको संख्या पनि सबैभन्दा बढी इटालीमा नै थपिएका छन् । इटालीमा बिहीबारमात्र ४ सय २७ जनाको मृत्यु भएको थियो भने ५ हजार ३ सय २२ कोरोना भाइरसका नयाँ बिरामी थपिएका थिए।
इटालीमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ४१ हजार ३५ पुगेको छ भने यी मध्ये ३ हजार ४ सय ५ जनाको मृत्यु भइसकेको छ। कोरोना भाइरसको इपिसेन्टर चीनमा हालसम्म कोरोना भाइरसका संक्रमितको संख्या ८० हजार ९ सय ६७ पुगेको छ। यीमध्ये ३ हजार २ सय ४८ जनाको मृत्यु भएको छ।
चीन र इटालीपछि कोरोना भाइरसबाट सबैभन्दा बढी इरान, स्पेन, जर्मनी, अमेरिका, फ्रान्स, दक्षिण कोरिया, स्वीट्जरल्याण्ड, बेलायत, नेदरल्याण्ड्स, अष्ट्रिया, बेल्जियम, नर्वे, स्वीडेन, डेनमार्क, जापान, मलेसिया, क्यानडा, पोर्चुगल र अष्ट्रेलिय प्रभावित भएका छन्।
इरानमा कोरोना भाइरस संक्रमित संख्या १८ हजार ४ सय ७ पुगेको छ, जसमध्ये १ हजार २ सय ८४ जनाको मृत्यु भइसकेको छ। बिहीबार मात्र इरानमा कोरोनाका कारण १ सय ४९ जनाको मृत्यु भएको थियो भने १ हजार ४६ जना नयाँ बिरामी थपिएका थिए।
बिहीबारसम्म स्पेनमा कोरोना भाइरस संक्रमितको संख्या १८ हजार ७७ पुगेको छ। यीमध्ये ८ सय ३१ जनाको मृत्यु भइसकेको छ। बिहीबारमात्र स्पेनमा १ सय ९३ जनाको मृत्यु भएको थियो भने ३ हजार ३ सय ८ नयाँ बिरामी थपिएका थिए।
जर्मनीमा १५ हजार ३ सय २० कोरोना भाइरस संक्रमितमध्ये ४४ जनाको मृत्यु भएको छ। बिहीबार एकै दिन जर्मनीमा १६ जनाको मृत्यु भएको थियो भने २ हजार ९ सय ९३ नयाँ बिरामी थपिएका थिए।
अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या १३ हजार ९ सय २० पुगेको छ। यीमध्ये २ सय १४ जनाको मृत्यु भइसकेको छ।
बिहीबार एकैदिन अमेरिकामा कोरोनाका कारण ६४ जनाको मृत्यु भएको थियो भने ४ हजार ६ सय ६१ नयाँ बिरामी थपिएका थिए। फ्रान्समा १० हजार ९ सय ९५ कोरोना भाइरसका संक्रमितमध्ये ३ सय ७२ जनाको मृत्यु भइसकेको छ। बिहीबार फ्रान्समा १ सय ८ जनाको मृत्यु भएको थियो भने १ हजार ८ सय ६१ नयाँ बिरामी थपिएका थिए।
छिमेकी राष्ट्र भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ सय ९४ पुगेको छ, जसमध्ये ४ जनाको मृत्यु भइसकेको छ। बिहीबार भारतमा कोरोनाका कारण एक जनाको मुत्यु हुनुकासाथै २५ जना नयाँ संक्रमित थपिएका थिए।