आजदेखि चिडियाखाना बन्द |
काठमाडौं । कोरोनाको त्रासका कारण ललितपुरमा रहेको सदर चिडियाखाना अनिश्चित कालको लागि बन्द गरिएको छ ।
शुक्रबारदेखि लागु हुने गरी चिडियाखाना बन्द गरिएको चिडियाखानाका प्रमुख चिरञ्जीवी पोखरेलले जानकारी दिए । पौडेलले बुधबार सरकारले गरेको निर्णय र कोरोना भाइरसको बढ्दो महामारीलाई लक्षित गर्दै धेरै भीड नियन्त्रणको लागि चिडियाखाना बन्द गर्ने निर्णय गरिएको जानकारी दिए ।
चिडियाखाना प्रशासनका अनुसार शनिबार ६ हजारको हाराहारीमा अवलोकनकर्ताहरु आउने गरेकोमा गत शनिबार २१ सयले मात्रै चिडियाखाना अनवलोकन गरेका थिए । अरु दिन हरेक दिन १७ सय देखि दुईहजारको हाराहारीमा दैनिक अवलोकनकर्ताहरु आउनेमा अहिले ५ सयको हाराहारीमा मात्रै अवलोकनकर्ताहरु आउने गरेको पोखरेलले जानकारी दिए ।
अरु बाल मनोरञ्जन केन्द्रहरु सुनसान
त्यस्तै, बालबालिकाको मनोरञ्जनको लागि खुलेका काठमाडौंका अरु बाल मनोरञ्जन केन्द्रहरु समेत यतिबेला सुनसान बनेका छन् ।
सरकारले कोरोना संक्रमणको सम्भावित असरलाई ध्यान दिँदै २५ जनाभन्दा धेरै एकै ठाउँमा भेला नहुन र अत्यावश्यकबाहेक बाहिर ननिस्कन आग्रह गरेपछि यी केन्द्रहरु सुनसान बनेको हो । ती केन्द्रहरु बन्द गरिएको छैन तर, अभिभावकहरुले स्वतस्फूर्त बच्चालाई ती केन्द्रमा लैजान छाडेका मनोरञ्जन केन्द्रका सञ्चालकहरु बताउँछन् ।
विद्यालय तहको परीक्षा बुधबार सकिएपछि बिहीबार काठमाडौंको चक्रपथ भित्रका केही बाल मनोरञ्जन केन्द्रहरुमा पुग्दा ती सबै सुनसान प्रायः थिए । ललितपुरको सदर चिडियाखानामा भने छिट्टपुट्ट अवलोकनकर्ताहरु देखिन्थे । तर, समग्रमा भन्दा बुधबारको सरकारको आग्रहका कारण बाल मनोरञ्जन केन्द्रहरु सुनसान बन्न पुगेको छ ।
सरकारको सो निर्णय पछि काठमाडौंको भृकुटीमण्डपमा रहेको काठमाडौं फन पार्कले बिहीबार कसैलाई पनि प्रवेश गराएन । बिहीबार नै बैठक बसेर बन्द गर्ने वा खुल्ला राख्ने भन्ने विषयमा छलफल गरेको थियो ।
काठमाडौं फन पार्क कार्यालय प्रशासनका अनुसार फनपार्क बन्द गर्ने निर्णय भने भएको छैन । बिहीबार सरसफाइको लागि भनेर आएका ग्राहकहरुलाई फिर्ता पठाइएको छ । बन्द गर्ने निर्णय नै नगरिएको भएपनि ग्राहकहरु शून्यप्रायः रहेको फनपार्क कार्यालयले जनाएको छ ।