विदेशबाट आउने यात्रु ९० प्रतिशतसम्म घटे | कतिपय आन्तरिक उडानको भाडा झन्डै गाडीकै जत्ति
काठमाडौं । यात्रुहरूको संख्या घटेपछि संसारका ठूला एयरलाइन्सले सयौं जहाज ‘ग्राउन्डेड’ गरेका छन् । नेपाल उडान गर्ने अधिकांश एयरलाइन्सको हालत पनि त्यस्तै छ । कोरोना भाइरसको सबैभन्दा ठूलो मार संसारभरनै एयरलाइन्समा परेको छ ।
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल कार्यालयका अनुसार एयरलाइन्सले अहिले दैनिक पचास प्रतिशत उडान कटौती गरेका छन् । विदेशबाट दैनिक १ सय २० जति जहाज काठमाडौं आउने गरकोमा सोमबार ६० जहाजमात्र आए ।
चीनबाट आउने उडानको संख्या सबैभन्दा धेरै घटेको छ । कोरोनाको सन्त्रास फैलनुअघि चीन–नेपाल रूटमा सातामा ५५ उडान हुन्थे । अहिले एयर चाइनाको सातामा एकदिनमात्र उडान हुन्छ ।
उडान ५० प्रतिशतले घटे पनि यात्रुको संख्या भने त्योभन्दा खराब छ । दैनिक २० हजारसम्म यात्रुले यात्रा गर्नुपर्ने यो सिजनमा अहिले दैनिक २ हजारको हाराहारीमामात्र मानिस यात्रा गरिरहेका छन् । यसरी यात्रुको संख्यामा ९० प्रतिशत कमी आएको छ । अहिले यात्रा गर्ने अधिकांश पनि पर्यटक होइनन् । स्वदेश फर्किने वा काममा विदेश फर्किने नेपालीको संख्या अधिक छ ।
नेपाल आउने–जाने अन्तर्रा्ष्ट्रिय उडानमा यति ठूलो गम्भीर प्रभाव परे पनि आन्तरिक एयरलाइन्सले भने अहिलेसम्म त्यति नै ठूलो असर भोगिसकेका छैनन् ।
आन्तरिक एयरलाइन्समा भने उडान र यात्रु दुबै त्यति धरै प्रभावित भएको छैन । नेपालका ठूला एयरलाइन्सले हवाइ उडानको ९५ प्रतिशत बजार हिस्सा लिन्छन् र उनीहरु अहिलेनै संकटमा गइसकेका छैनन् ।
आन्तरिक उडानमा झन्डै ५० प्रतिशत बजार हिस्सा भएको बुद्ध एयरले आजका दिनसम्म उडान निराशाजनक नभएको बताएको छ । नेपालका अरू मुख्य एयरलाइन्स कम्पनीहरू पनि यात्रु संख्या त्यस्तै रहेको छ ।
घोषणा गरेरै उडान संख्या कटौती नगरेका एयरलाइन्सले स्थिति हेरेर केही उडान भने घटाउने गरेका छन् ।
काठमाडौं विमानस्थलको तथ्यांकअनुसार अहिले दैनिक बुद्ध एयरले ४५ सय, श्रीले २५ सय र यतिले ३ हजार हाराहारीमा यात्रु बोकिरहेका छन् । यो संख्या पहिलेको भन्दा करिब २० प्रतिशत कम हो ।
विदेशी पर्यटकको संख्या घटदा एयलाइन्सहरुको आय भने घट्ने व्यवसायीको भनाइ छ । विदेशी पर्यटकले नेपाली यात्रुले भन्दा धेरै भाडा तिर्नुपर्छ ।
’पर्यटकको संख्या घट्दा हाम्रो आम्दानी त घटिरहेको छ’ जोशीले भने,’तर नोक्सान नै भएको छैन ।’
भाडा झन्डै गाडीको जति
एयरलाइन्सहरूले अधिकांश रूटमा भाडा घटाएका छन् । भाडा यति तल झारेका छन् कि सामन्यतː गाडीमा जान लाग्ने खर्च र जहाजको भाडा एउटै जस्तो भएको छ । यही रणनीतिले गर्दा यात्रु संख्यामा धेरै गिरावट नआएको हो ।
पर्यटक जाने ठाँउमा यात्रुको संख्या घट्दा एयरलाइन्सले भाडा धेरै नै घटाएका छन् । जस्तो भैरहवाको अधिकतम भाडा ६ हजार २ सय रूपैयाँ छ । तर मंगलबारका लागि भैरहवा जान जहाजको भाडा न्यूनतम २ हजार रुपैयाँ पुगेको छ ।
काठमाडौंबाट सबैभन्दा धेरै उडान हुने रुट हो, पोखरा । यो रूटको अधिकतम भाडा ५ हजार ५० रुपैयाँ हो । तर आज पोखराको भाडा १५ सय रुपैयाँ छ ।
सिम्रिक एयरलाइन्सले हिजोका लागि सबैभन्दा सस्तो भाडा उपलब्ध गराएको छ । राम्रो टुरिष्ट बसमै पोखरा जाँदा भाडा १५ सय रुपैयाँ पर्छ ।
पर्यटकहरु धेरै नउड्ने रूटमा पनि भाडा धेरै घटेको छ । काठमाडौंबाट विराटनगर जानका लागि अधिकतम भाडा ७ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ । हिजो विराटनगरको हवाइ टिकट २ हजार ३ सय रुपैयाँमा पाइरहेको छ ।
नेपालकै सबैभन्दा महंगो हवाइ भाडा भएको रुट काठमाडौ–धनगढी हो । यो रुटको अधिकतम भाडा १२ हजार ६५० रुपैयाँ हो । हिजो धनगढीका लागि ४ हजार रुपैयाँ छ । १० हजार भाडा भएको नेपालगञ्जको भाडा पनि हिजोका लागि २ हजार ६ सय रुपैयाँ छ ।
Visited 1 times, 1 visit(s) today