काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) नियमित तालिकामै सञ्चालन हुने बताएको छ । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणको जोखिम भए पनि उच्च सतर्कताका साथ परीक्षा सञ्चालन गर्ने तयारी सरकारले गरेको हो ।
सरकारका प्रवक्ता समेत रहेका अर्थ मन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले मंगलबार नियमित तालिका अनुसार नै एसइई परीक्षा सञ्चालन हुने बताए ।
उनले शिक्षा मन्त्रालयले समेत परीक्षा नियमित तलिका अनुसार नै सञ्चालन हुने गरी व्यवस्थापकीय तयारी गरिरहेको समेत बताए ।
कोरोना भाइरसको संक्रमण देखिएका मुलुकमा समेत परीक्षा सञ्चालन भइराखेको उल्लेख गर्दै विद्यार्थीमा समस्या देखिए छुट्टै व्यवस्था गरेर पनि सरकारले परीक्षा सञ्चालन गर्ने उनले बताए ।
उनले भने, ‘एसइईलाई अहिले हामीले तालिकामै लैजाने भनेर शिक्षा मन्त्रालयले वक्तव्य जारी गरिसकेको छ । कोरोनाको संक्रमण देखिएका मुलुकहरूमा पनि परीक्षा चाहिँ नियमितै गर्नुभएको छ । त्यो परीक्षा गरिरहँदाखेरी केही पूर्व तयारी हामीलाई चाहिन्छ । जस्तो परीक्षा हलमा प्रवेश गर्दा सामान्य टेम्प्रेचर ज्वरो नापेर पठाउने एउटा, यदि शंका लाग्यो भने हामीले आइसोलेटेड रूममा राखेर त्यस्तो रूममा पनि निश्चित फरकमा दूरीमा विद्यार्थीहरूलाई राखेर परीक्षा लिने र त्यसको लागि स्वास्थ्यकर्मीहरू खटाउन पर्ने ठाउँमा खटाउने र प्रदेश र स्थानीय तहको पनि त्यहाँनेर भूमिका हुन्छ ।’
चैत्र ६ गतेदेखि नै नियमित तालिका अनुसार यथावत रूपमा परीक्षा सञ्चालन हुने उनले बताए ।
सबै केन्द्रमा हेल्थ डेस्कको प्रबन्ध
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आसन्न माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा त्रसित नभई भाग लिन विद्यार्थीलाई आह्वान गर्दै सबै केन्द्रमा सहायता कक्ष ‘हेल्थ डेस्क’को प्रबन्ध गरिएको जनाएका छन् ।
कोभिड–१९ को सङ्क्रमणको जोखिमप्रति सचेत हुन आग्रह गर्दै मन्त्री पोखरेलले आज सार्वजनिक गर्नुभएको अपिलमा परीक्षाका लागि पर्याप्त सावधानीको प्रबन्ध गरिएकाले त्रसित र भयभित हुनु नपर्ने उल्लेख गरेका हुन् । उनले सङ्क्रमणको रोकथाम गर्नुपर्ने र परीक्षालाई मनोवैज्ञानिक एवं त्रासमुक्त वातावरणमा सम्पन्न गर्नुपर्ने भएकाले विद्यार्थीलाई व्यक्तिगत सरसफाइमा ध्यान दिन, माक्सको प्रयोग गर्न, अरूसँग हात नमिलाउन, सकभर भीडभाडमा नजान पुनः स्मरण गराएका छन् ।
मन्त्री पोखरेलको अपिलमा भनिएको छ, ‘विद्यार्थीको पढ्न पाउने हकअधिकार सुरक्षित हुनुपर्छ भन्नेमा सरकार गम्भीर छ । विद्यार्थीको स्वास्थ्य सुरक्षा र बचावट पहिलो प्राथमिकता हो । यसका लागि परिस्थितिको नियमित विश्लेषण गरेर आवश्यक परेमा उच्चस्तरीय समितिबाट निर्णय गरिनेछ तर हाल पूर्वनिर्धारित तालिकाअनुसार परीक्षा हुनेछ ।’ सो परीक्षा यही चैत ६ देखि १७ गतेसम्म सञ्चालन हुँदैछ । परीक्षामा कूल चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका छन् । देशभर एक हजार ९९५ केन्द्र निर्धारण गरिएको छ ।