सरकारद्वारा कृषि तथा वनविज्ञान संकायका आठवटा कलेजको सम्बन्धन खारेज |
काठमाडौं । सरकारले कृषि तथा वनविज्ञान विश्वविद्यालयले दिएको आठवटा कलेजको सम्बन्धन खारेज गरेकोे छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले मन्त्रिपरिषद् बैठकले कृषि तथा वन विज्ञान विश्वविद्यालयले दिएको आठवटा कलेजको सम्बन्धन खारेज गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।
गत सोमवार बसेको मन्त्रिपरिषद् बैठकले तत्काल सम्बन्धन दिने कार्य स्थगन गर्न पनि सबै विश्वविद्यालयलाई निर्देशन दिएको छ । अर्को निर्णय नभएसम्मका लागि सबै विश्वविद्यालयलाई कलेजको सम्बन्धन प्रक्रिया अघि नबढाउन निर्देशन दिइएको पनि सचिव बरालले जानकारी दिए । सरकारले जनसंख्याका आधारमा सबै प्रदेशमा कलेजहरूको उचित व्यवस्थापन गर्न पनि आन्तरिक गृहकार्य शुरू गरेको छ । सचिव बरालले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले मुलुकको आवश्यकताअनुसार नयाँ शैक्षिक रणनीति बनाउन पनि शुरू गरेको जानकारी दिए ।
सरकारले जनशक्ति प्रक्षेपण, विश्वविद्यालयको वर्गीकरण र उच्चस्तरीय शिक्षा आयोगको कामलाई प्रभावित हुन नदिन विश्वविद्यालयलाई कलेजहरूलाई सम्बन्धन नदिने निर्णय गर्नुपरेको पनि स्पष्ट पारेको छ । सचिव बरालले नयाँ शैक्षिक रणनीति बनाउनुपर्ने भएकाले तत्काल कलेजहरूलाई सम्बन्धन नदिने निर्णय गरिएको स्पष्ट पारेका छन् ।