चीनमा कोरोना नियन्त्रणमा आँउदै, वुहानबाहिर भेटिएनन् नयाँ बिरामी | संक्रमितसँग हात मिलाएको भन्दै अमेरिकी सिनेटर क्रुज १४ दिने सेल्फ क्वारेन्टाइनमा
एजेन्सी । चीनले महामारीको रूप लिएको कोरोनाभाइरसलाई लगभग नियन्त्रणमा ल्याएको छ । आइतबार चीनभित्र जम्मा ४० जनामा मात्र थप संक्रमण देखिएको छ । यी नयाँ बिरामी पनि हुबेई प्रान्तको राजधानी वुहानमा मात्र भेटिएका हुन् । यसको अर्थ कोरोनाको उदगमस्थल वुहानभन्दा बाहिर कोरोना नियन्त्रणमा आइसकेको छ ।
हुबेई प्रान्त भन्दाबाहिर विदेशबाट आएका चार जनाबाहेक अरूमा आइतबार नयाँ संक्रमण देखिएको छैन । कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि घटेको छ यद्यपी रोकिएको भने छैन । आइतबार वुहानबाट कोरोनाका कारण २२ जनाले ज्यान गुमाएका छन् ।
नयाँ संक्रमितको संख्या घट्नुलाई चिनियाँ अधिकारीहरूले ठूलो सफलता मानेका छन् किनभने एक महिनाअघि चीनमा कोरोनाको संक्रमण दर दिन दुई गुणा रात चौगुणा बढिरहेको थियो ।
फेब्रअरी ४ मा एकैदिन ३ हजार ८ सय ८७ जना नयाँ संक्रमित भेटिएका थिए । जनवरी २३ देखि वुहान सहरलाई पूर्ण रूपमा बन्द गरिएको थियो । सहर बन्द गरिए पनि संक्रमणको दर वुहानबाहिर पनि बढेको थियो ।
कोरोनाभाइरसका कारण अहिलेसम्म चीनमा ३ हजार १ सय १९ मानिसले ज्यान गुमाए छन् भने ८० हजार ३ सय ७५ जना बिरामी भएका छन् ।
कोरोनाको कहर चीनमा घटे पनि इरान र इटालीमा भने तीव्र गतिमा फैलिरहेको छ । इटालीमा एकैदिन १ सय ३३ जनाको मृत्यु भएको छ । बिबिसीका अनुसार योसँगै इटालीमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३६६ पुगेको छ ।
इटालीका सेनाप्रमुख साल्भातोरे फारिनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित सेनाप्रमुख फारिनाले आफू ठीक रहेको र ’सेल्फ(क्वारेन्टाइन’मा रहेको बताएका छन् ।
संक्रमण नियन्त्रणका लागि इटालीले पछिल्लो समय निक्कै कडा कदम चालेको छ । उसले लोम्बार्दी र १४ प्रान्तका १ करोड १६ लाख मानिसको आवतजावतमा कडाइ गरेको छ । विशेष अवस्थामा बाहेक बिना अनुमति घरबाहिर ननिस्कन भनेको छ ।
प्रधानमन्त्री जुजेपे कोन्टेले कोरोनाभाइरसको संक्रमणलाई ध्यानमा राख्दै देशभरका स्कुल, कलेज, जिमखाना, म्युजियम, नाइट क्लबलगायतका सार्वजनिक स्थलहरू बन्द गर्ने घोषणा गरिसकेका छन् ।
पछिल्लो समय इरानमा पनि यसको संक्रमण उच्च देखिएको छ । इरानमा ६ हजार ५ सय ६६ जनालाई कोरोनाभाइरस पुष्टि भएको छ भने १९४ जनाको ज्यान गइसकेको छ ।
अमेरिकी सिनेटर क्रुज ‘सेल्फ क्वारेन्टाइन’
यसैबीच अमेरिकी सिनेटर टेड क्रुज कोरोनाभाइरस भएका व्यक्तिसँग हात मिलाएको भन्दै ‘सेल्फ क्वारेन्टाइन’ मा बसेका छन् । उनले फेब्रअरी अन्तिम साता भएको कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फ्रेसमा आएका एक जनासँग केहीबेर कुराकानी गरेर हात मिलाएका थिए । ती व्यक्तिलाई कोभिड १९ भएको शनिबार पुष्टि भएको थियो ।
त्यसपछि क्रुजले टेक्सासस्थित आफ्नै घरमा क्वारेन्टाइनमा बस्ने निर्णय गरेका हुन् । यद्यपी उनलाई अहिलेसम्म कोरोनाका कुनै पनि लक्षण देखिएका छैनन् ।
अमेरिकाका विभिन्न राज्यमा अहिलेसम्म ४ सय १४ जनालाई कोरोना भाइरस देखिएको छ भने आइतबारसम्म २१ जनाले ज्यान गुमाएका छन् ।