मनसुनसँगै कालीगण्डकीको -याफ्टिङ बन्द |
पर्वत । मनसुन शुरू भएपछि कालीगण्डकी नदीमा सञ्चालित जलयात्रा (-याफ्टिङ) बन्द भएको छ । नदीमा पानीको बहाव बढ्दै गएपछि उक्त नदीमा सञ्चालन हुँदै आएको जलयात्रा बन्द भएको हो ।
यो वर्ष मनसुन छिटो शुरू भएकाले नदीमा पानीको बहाव पनि बढेकाले जलयात्रा बन्द गर्नुपरेको सञ्चालक होमबहादुर पुनले बताए । विगतका वर्षमा कालीगण्डकी नदीमा सेप्टेम्बरको मध्यदेखि अक्टोबरसम्म र मार्चदेखि जुनसम्म सहज रूपमा जलयात्रा सञ्चालन गरिए पनि यस वर्ष वर्षा छिटो शुरू भएका कारण सञ्चालन गर्न नसकेको र जलयात्राका लागि आएका पर्यटकलाई पनि फर्काउनुपर्ने अवस्था आएको उनले बताए ।
कालीगण्डकीमा लामो तथा छोटो दूरीको प्याकेजमा जलयात्रा सञ्चालन हुँदै आएको छ । छोटो र पारिवारिक जलयात्राका लागि कालीगण्डकीमा जलयात्रा गर्न आउने पर्यटक प्रत्येक वर्ष बढ्दै गएको स्विसा ¥याफ्टिङ एण्ड ट्रेकिङ टुरिजम कम्पनी पोखराका सञ्चालक देव रेग्मीको भनाइ छ ।
-याफ्टिङका लागि कालीगण्डकीमा अहिले विदेशी पर्यटकसँगै स्वेदशी पर्यटकको आकर्षण पनि बढ्दै गएको छ ।
कालीगण्डकीको पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरहरूको अवलोकन र प्रदूषणरहित हावापानीका कारण पर्यटक आकर्षित हुने गरेका छन् । यहाँ इजरायली, अष्टे«लियाली, अमेरिकी र यूरोपियन मुलुकका पर्यटकसमेत आउने गरेका छन् ।