भारतसँग सबैभन्दा धेरै ऊर्जामा सहकार्य, अरुण तेस्रोले गति लिएकोमा भारत खुशी |
काठमाडौं । भारतीय राजदूत विनयमोहन क्वात्राले नेपालमा केपी शर्मा ओली नेतृत्वमा सरकार बनेपछि भारतसँग सबैभन्दा धेरै ऊर्जा क्षेत्रमा सहकार्य भएको बताएका छन् ।
नेपालका लागि नवनियुक्त भारतीय राजदूत क्वात्राले शुक्रबार ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनलाई भेटेर वर्तमान सरकार गठन भएपछि नेपाल–भारत ऊर्जा क्षेत्रमा राम्रो काम भएको भारत सरकारको निष्कर्ष रहेको बताएका हुन् ।
त्यसको वातावरण निर्माणमा सक्रिय र नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै राजदूत क्वात्राले मन्त्री पुनको प्रशंसा गरे। विशेष गरी लामो समय अलपत्र अवस्थामा रहेको अरुण तेस्रो जलविद्यु्त आयोजना निर्माणको कामले गति लिएकोमा राजदूत क्वात्राले खुसी व्यक्त गरे ।
अरुण तेस्रोमा ३० प्रतिशत काम सम्पन्न भइसकेको चर्चा गर्दै उनले निर्ध्रारित समयमै आयोजनाको काम सम्पन्न हुने विश्वास व्यक्त गरे । पहुँच मार्गको स्तरोन्नती, विस्फोटक पदार्थ आयात र सुरक्षामा ख्याल गरिदिन पनि उनले ऊर्जा मन्त्रीलाई आग्रह गरे ।
यस्तै बुटवल–गोरखपुर प्रसारण लाइन निर्माणका लागि भएको सहकार्यको सहमतिले उक्त काम सफलतापूर्वक सम्पन्न हुने आशा जागेको राजदूत क्वात्राको भनाइ थियो । उक्त प्रसारण लाइन निर्माणका लागि नेपाल–भारत संयुक्त कम्पनी नै निर्माण भइसकेको छ ।
मन्त्री पुन मन्त्रालयको नेतृत्वमा आएपछि नेपाल–भारतबीच इनर्जी बैंकिङको सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ ।
यस्तै भारतले छिमेकी मुलुकसँग विद्युत आयात निर्यातका लागि ल्याएको निर्दे्शिका परिमार्जन गरेको छ। जसले दुई देशबीच इनर्जी बैंकिङका साथै अन्तरदेशीय विद्युत व्यापारका लागि समेत बाटो खुलेको थियो । सोही आधारमा नेपालले बंगलादेशसँग विद्युत व्यापारको सम्झौता गरेको छ ।
यस्तै सोही अवधिमा नेपाल–भारतबीच विद्युत आदान प्रदानका लागि निर्माण हुने बुटवल–गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारण लाइनको लगानी तथा कार्यान्वयनको प्रारुपमा पनि सहमति भएको छ ।
भेटमा मन्त्री पुनले पनि नेपालले जलविद्युतको सीमापार व्यापारलाई उच्च प्राथमिकतामा राखेको चर्चा गर्दै त्यसको सहजीकरणका लागि भारतीय पक्षबाट गरिएका प्रतिबद्धताको प्रशंसा गरे ।
मन्त्री पुनले भारतीय लगानीमा निर्माण भइरहेका अरुण तेस्रो जलविद्युत आयोजना र बुटवल–गोरखपुर ४ सय केभी प्रसारण लाइन नेपालको प्राथमिकतामा रहेको उल्लेख गरे ।
यसअघि समेत काठमाडौंस्थित सार्क सचिवालयमा रहेर लामो समय काम गरिसकेको र नेपाली समाज बुझेका कारण राजदूत क्वात्राको कार्यकालमा नेपाल–भारत सम्बन्ध थप उचाइमा पुग्ने मन्त्री पुनको विश्वास छ ।
क्वात्रासँग ३० वर्ष भारतीय विदेश सेवामा काम गरेको अनुभव छ । गत पुस २८ मा राजदूत नियुक्त भएका क्वात्राले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका थिए ।
सन् १९८८ मा सेवा प्रवेश गरेका क्वात्राले सन् २००६ देखि २०१० सम्म काठमाण्डौंस्थित दक्षिण एसियाली सहयोग संगठन (सार्क) सचिवालयको व्यापार, अर्थ तथा वित्त व्युरो प्रमुखका रुपमा काम गरिसकेका छन् ।