कोरोना भाइरस ː इटालीमा थप ४९ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १९७ पुग्यो (अपडेट) |
एजेन्सी । चीनबाहिर कोरोनाभाइरसका कारण पछिल्लो समय सबैभन्दा बढी प्रभावित बन्दै गइरहेको इटालीमा यसबाट ज्यान गुमाउनेको संख्या थप बढेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणबाट थप ४९ जनाको ज्यान गएको इटालीका अधिकारीहरूले बताएका छन् ।
योसँगै कोरनाभाइरसबाट इटालीमा ज्यान गुमाउनेको संख्या १९७ पुगेको छ । यसैगरी यसका ४६ सय मामिलाहरू पुष्टि भएको इटालीले जनाएको छ ।
डिसेम्बरमा चीनमा पहिलो पटक देखिएको यो भाइरसबाट हालसम्म संसारका एक लाख बाढी मानिसहरू प्रभावित भइसकेको विश्व स्वास्थ्य संगठनले बताएको छ ।
यसैगरी ३ हजार बढीको ज्यान गएको पनि उसले बताएको छ, जसमा अधिकांश चीनका रहेका छन् ।
इटालीका विभिन्न २२ वटा शहरमा यसको प्रकोप देखिएको छ । इटालीले देशैभरिका विद्यालय, विश्वविद्यालय बन्द गराएको छ । सरकारले यो भाइरसको नियन्त्रणका विभिन्न कार्यक्रम घोषणा गरी कार्यान्वयन गराएको छ ।