कोरोनाको कहर ː एयरलाइन्स उद्योगमा १३१ खर्बको क्षति |
काठमाडौं । कोरोना भाइरसले विश्ववयापी रुपमा हवाई यात्रुको संख्यामा गिरावट आएको छ । यसले ठूलो धनरासी नोक्सान हुने प्रक्षेपण अन्तर्रा्ष्ट्रिय एयर ट्रान्सपोर्ट एशोसिएशन (आएटा)ले गरेको छ ।
एशोसिएशनका अनुसार सन् २०२० मा मात्र हवाई यात्रुमा आएको कमीले वायुसेवा कम्पनीहरुमा ११३ अर्ब अमेरिकी डलर (करीव १३१ खर्ब रुपैयाँ) बराबरको नोक्सानी हुने प्रक्षेपण गरिएको छ ।
यो अनुमान कार्गो उडानबाट प्राप्त हुने राजस्व नजोडिएको अवस्थामा गरिएको आएटाले जानाएको छ । यसअघि आएटाले २० फेब्रअरीमा गरेको प्रक्षेपणमा २९.३ अर्ब डलर बराबरको क्षति हुने अनुमान थियो ।
तर, त्यसपछि कोरोनाले विश्वका करीव ८० मुलुकमा आफ्नो प्रभाव बिस्तार गरिसकेको छ । यसले हवाई यात्रुमा व्यापक कमी आउँदा त्यसले एयरलाइन्स उद्योगमा ठूलो क्षति हुने प्रक्षेपण आएटाले गरेको हो ।
आएटाका अनुसार कोरोना भाइरसको संक्रमणसँगै एयरलाइन्स कम्पनीको शेयर मूल्यसमेत विश्वव्यापी रुपमा करीव २५ प्रतिशतले गिरावट आइसकेको छ । यो सन् २००३ यताकै सबैभन्दा कम रहेको आएटाको भनाइ छ ।
एसियामा र यूरोपमा ठूलो क्षति
कोरोनाका कारण एसियाली मुलुकका एयरलाइन्सले ठूलो क्षति बेहोर्ने आएटाको प्रक्षेपण रहेको छ । सन् २०२० मा सबैभन्दा ठूलो क्षति इटाली र चीनले बेहोर्नेछन् । यस वर्ष चीनले कूल यात्रु संख्यामा २३ प्रतिशत गिरावटको सामना गर्नेछ । जापानले १२ प्रतिशत, सिंगापुरले १०, दक्षिण कोरियाले १४ र इटालीले २४ प्रतिशत यात्रुको गिरावट हुने अनुमान छ ।
फ्रान्समा १०, जर्मनीमा १० र इरानमा १६ प्रतिशतको गिरावट देखिने प्रक्षेपण आएटाको रहेको छ । समग्रमा हेर्दा अष्टे्रलिया, चीन, जापान, मलेसिया, सिंगापुर, दक्षिण कोरिया, थाइल्याण्ड र भियतनाममा मात्र २३ प्रतिशतले यात्रु गिरावट आउँदा यी मुलुकका वायुसेवा कम्पनीले ४९.७ अर्ब डलर बराबरको नोक्सानी बेहोर्ने भएका छन् ।
नेपाल समेत रहेको एसिया प्यासेफिक क्षेत्रमा यात्रुको संख्या समग्रमा ९ प्रतिशतको गिरावट आउने छन् । यसले ७.६ अर्ब डलर बराबरको नोक्सानी हुनेछ । इटाली, जर्मनीसहित १० यूरोपेली मुलुकमा २४ प्रतिशतले यात्रु घट्दा ३७.३ अर्ब डलरको नोक्सानी यस भेगका कम्पनीले बेहोर्ने भएका छन् । इराक, बहराइन, कुवेत, लेवनान र यूइर्एमा २३ प्रतिशतले यात्रु घट्दा ४.९ अर्ब डलर बराबरको नोक्सानी हुने आएटाको प्रक्षेपण रहेको छ । अमेरिका र क्यानडामा १० प्रतिशतले यात्रु घट्दा २१.१ अर्ब डलर बराबरको आर्थिक नोक्सानी हुने आएटाले गरेको प्रक्षेपणमा उल्लेख छ ।