कोरोनाभाइरसको उपचारमा चाहिने सामग्रीको संसारभर अभाव हुन सक्ने डब्लुएचओको चेतावनी | मास्कको भाउ ६ गुणा बढ्यो
प्रतिरक्षा मेडिकल सामग्रीको अभाव तथा मूल्य बृद्ध भएको बारे विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मेडिकल सामग्री उत्पादक तथा सरकारहरूको ध्यानाकर्षण गराएको छ ।
ले रक्षात्मक मेडिकल सामग्रीको उत्पादन कम्तिमा पनि ४० प्रतिशतले बढाउन भनेको छ ।
चीनबाट सुरू भएर विश्वभर फैलिरहेको कोरोनाभाइरस(कोभिड-१९) कारण मास्क, औषधी तथा अन्य उपकरणको अभाव हुनसक्ने डब्लुएचओले चेतावनी दिएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार भाइरस फैलिएपछि विश्वभर मास्कको मूल्य आकासिएको छ ।
बजारमा भइरहेको नियमित उत्पादनले आपूर्ति धान्न छाडेपछि यसको मूल्य ६ गुणाले बढेको छ। त्यस्तै मेडिकल गाउनको मूल्य पनि दुई गुणाले बढेको छ ।
संगठनको प्रक्षेपणअनुसार स्वास्थ्यकर्मीका लागि संसारभर प्रतिमहिना ८ करोड ९० लाख मास्क, ७ करोड ६० लाख पन्जा र १६ लाख चस्मा चाहिन्छन् ।
अमेरिकी स्वास्थ्य निमायकले पनि विश्वभर औषधी तथा मेडिकल सामाग्रीको आपूर्ति प्रभावित हुनसक्ने बताएको छ । भारतले सामान्य औषधीको निर्यात सीमित पारेसँगै यसले विश्वव्यापी प्रभाव पार्नसक्ने उसले चेतावनी दिएको छ ।
भारतले पेनकिलर,पारासिटामोल, पिल्स,कमन इन्टीबायोटिक्स,भिटामिनबी सँगै आठ वटा मेडिकल केमिकल निर्यातमा सीमित कोटा तोकेको छ ।
कोभिड १९ को संक्रमण दक्षिण कोरिया,जापान, इरान, संयुक्त राज्य अमेरिकालगायत ८० देशमा फैलिएको छ ।
यसको संक्रमण न्यूनिकरण गर्न तथा थप मानवीय क्षति रोक्न विभिन्न देशले प्रयास गरिरहेकका छन् । अमेरिकी सांसदले स्थानीयस्तरमा भाइरस रोकथाम गर्न ९ अर्ब डलरभन्दा बढी खर्च गर्नुपर्ने बताएका छन् ।
कोभिड १९ संक्रमण न्यूनिकरण गर्न विभिन्न देश तथा बहुराष्ट्रिय संस्थाहरूले पनि आर्थिक सहयोग गरिरहेका छन् ।
विश्व बैंक समूहले कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि १२ अर्ब अमेरिकी डलर (नेपाली रुपैयाँ १३ खर्ब बढी) सहयोग गर्ने घोषणा गरेको छ ।