विराटनगर भन्सार लक्ष्य नजिक, जेठ मसान्तसम्ममा कुल २९ अर्ब १ करोड ५४ संकलन |
विराटनगर । विराटनगरस्थित विराटनगर भन्सार कार्यालय चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा लक्ष्यको नजिक पुगिसकेको छ । देशका प्रमुख भन्सार कार्यालयहरु नै आफ्नो लक्ष्यमा नपुगिरहेको बेला विराटनगर भन्सार कार्यालयले भने कुल २९ अर्ब १ करोड ५४ लाख रुपैयाँ संकलन गरेर लक्ष्यको नजिक पुगेको हो ।
चालू आवमा कार्यालयले ३१ अर्ब २४ करोड ४८ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा, असार मसान्तसम्ममा उक्त लक्ष्य सजिलै पार गर्ने कार्यालयले बताएको छ । जेठ मसान्तसम्मको तथ्यांकअनुसार अब असार मसान्तसम्मा कार्यालयले लक्ष्य प्राप्त गर्न २ अर्ब २३ करोड रुपैयाँ मात्र असुल गरे पुग्ने भएको छ ।
कार्यालयले जेठ महिनामा ३ अर्ब ६७ करोड र वैशाखमा ३ अर्ब असुल गरेको थियो । त्यस्तै, चैत र फागुनमा क्रमशः ३ अर्ब र २ अर्ब ८२ करोड सङ्कलन गरेको थियो । कार्यालयले कात्तिक महिनायता मासिक २ अर्ब २३ करोडभन्दा बढी राजस्व उठाइरहेको छ । साउन, भदौ र असोजमा भने बाढीका कारण मीरगञ्जको पुल भत्किएर रिरुट गर्नुपरेकाले सो समयमा केही कम मात्र राजस्व संकलन भएको थियो । असारमा अन्य महिनामा भन्दा बढी काम हुने भएकाले असुली पनि उल्लेखनीय हुने हुँदा २ अर्ब २३ करोड सजिलै पुग्ने देखिएको हो ।
जेठ मसान्तसम्ममा कार्यालयले भन्सार महसुलको १२ अर्ब १० करोडको लक्ष्यमा १२ अर्ब २० करोड, मूअकरको ११ अर्ब ९० करोडको लक्ष्यमा १५ अर्ब ५४ करोड र अन्तःशुल्कको ४ अर्ब ११ करोडको लक्ष्यमा १ अर्ब २७ करोड असुल गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।