कालीगण्डकी कोरिडोरका प्रभावितलाई साढे ३ करोड मुआब्जा वितरण |
पर्वत । कालीगण्डकी कोरिडोर प्रसारण लाइनका प्रभावित बासिन्दालाई हालसम्म ३ करोड ६० लाख रुपैयाँ वितरण गरिएको छ । सो कोरिडोरअन्तर्गतका बासिन्दाहरूलाई जम्मा ७ करोड ८६ लाख रुपैयाँ मुआब्जा वितरण गर्नुपर्नेमा स्टेशन तथा १ सय ४४ ठाउँका टावर निर्माण गर्दा लिइएको जग्गाका धनीलाई उक्त मुआब्जा वितरण गरिएको हो ।
आयोजना प्रमुख चन्दकुमार घोषका अनुसार पर्वतका ५७ जनालाई १ करोड र म्याग्दीका ४२ जनालाई २ करोड ६० लाख रुपैयाँ मुआब्जाबापतको रकम हस्तान्तरण गरिएको हो । थप ७६ घरधूरीलाई ३ करोड २३ लाख रुपैयाँ मुआब्जा वितरण गर्न बाँकी रहेको उनले जानकारी दिए । उनका अनुसार आयोजनाले ९३ रोपनी जग्गा अधिग्रहण गर्नेछ । जग्गाधनी सम्पर्कमा नआउँदा सबै रकम एकै पटक बुझाउन समस्या भएको छ । उनले भने, ‘पर्वत र म्याग्दी जिल्ला प्रशासनबाट मुआब्जा वितरणको काम भइरहेको छ । वनको समस्याका कारण पनि काम गर्न अप्ठ्यारो भइरहेको छ ।’
सो क्षेत्रका निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न यो आयोजना निर्माण गर्न लागिएको हो । उक्त प्रसारण लाइनअन्तर्गत हाल नौओटा जलविद्युत् आयोजना निर्माणको चरणमा छन् ।
आयोजनाले म्याग्दीको दानादेखि पर्वतको खुर्कोट सबस्टेशनमा जोड्छ । त्यस्तै खुर्कोट सबस्टेशनबाट पर्वत, बाग्लुङ, स्याङ्जा, पाल्पा, रूपन्देही र नवलपरासी हु“दै बुटवल सबस्टेशनमा जोडिएर राष्ट्रिय प्रसारणमा पु¥याइने निर्माण कम्पनी टाटा प्रोजेक्टका प्रतिनिधि अर्जुन गुरुङले बताए । दाना–खुर्कोट सबस्टेशनको दूरी ३९ किलोमिटर र खुर्कोट–बुटलवको दूरी ८८ किमी छ ।
सन् २०१६ मे ३० मा निर्माणको काम थालिएको आयोजना सन् २०१८ नोभेम्बरको अन्त्यमा निर्माण सक्नुपर्ने लक्ष्य छ । भूकम्प र नाकाबन्दीको असर र अन्य प्राविधिक कठिनाइका बावजुद काम धमाधम भइरहे पनि तोकिएको मितिमा आयोजनाको काम सकिने देखिएको छैन । आयोजनाका प्राविधिक सहायक प्रबन्धक लक्ष्मण फुयाँलका अनुसार हालसम्म ४० प्रतिशत मात्रै काम सकिएको छ । टाटा प्रोजेक्ट्स र चिण्ट इलेक्ट्रिक जेभीले २ अर्ब ९० करोडमा आयोजना सम्पन्न गर्ने ठेक्का सम्झौता छ ।