कोरोना भाइरसको त्रास ː अन–अराइभल भिसा नदिने मन्त्रिपरिषद निर्णय |
काठमाडौं । सरकारले कोरोना भाइरसको जोखिम हेरेर नेपाल आउनेहरूलाई ’अन–अराइभल’ भिसा दिने व्यवस्था स्थगित गर्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले आगामी फागुन २४ गतेबाट ’अन(अराइभल’ भिसा स्थगित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
उनका अनुसार, कोरोना भाइरसको संक्रमण देखिएका देशहरूबाट नेपाल आउने व्यक्तिले सम्बन्धित देशमा रहेको नेपाली दूतावासबाटै भिसा ल्याउनु पर्नेछ र भिसाका लागि निवेदन दिँदा स्वास्थ्य सर्टि्फिकेटसमेत ल्याउनुपर्ने छ ।
विश्वभर कोरोना भाइरसको जोखिम बढ्दै गएपछि नेपालले पनि उच्च सतर्कता अपनाउन लागेको हो । सरकारले बढी संक्रमण भएको देशमा आफ्ना नागरिकलाई नजान आह्वान गर्ने भएको छ ।
’ठूलो भेलाको कार्यक्रम नगर्न र बाहिरबाट पनि त्यस्तो कार्यक्रम आउन लागेको छ भने तत्काल नआउन आह्वान गर्ने भनिएको छ,’ ती मन्त्रीले भने ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपाललाई कोरोनाको उच्च जोखिममा राखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बालुटारमा छलफल डाकेका थिए । उक्त छलफलले कोरोना भाइरस रोकथामको पूर्वतयारीका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा उच्चस्तरीय समन्वय समिति गठन गरेको छ ।
प्रधानमन्त्री ओलीले कोरोनासम्बन्धी आवश्यक निर्णय लिन उक्त समितिलाई निर्देशन दिएका छन् । समितिले नेपाल आउने र यहाँबाट विदेश जाने सबै यात्रुको ज्वरो जाँच गर्ने निर्णय गरेको छ ।