अमेरिकामा पनि कोरोनाभाइरसका कारण एक जनाको मृत्यु |
अमेरिकाले कोरोनाभाइरसका कारण आफ्नो मुलुकमा एक व्यक्तिको निधन भएको पुष्टि गरेको छ । अमेरिकी अधिकारीहरूले कोरोनाभाइरसका कारण विविध किसिमको स्वास्थ्य समस्या रहेका एक ५० वर्षिय पुरुषको वासिङ्टनस्थित उत्तर–पश्चिम राज्यमा उपचारका क्रममा मृत्यु भएको बताएका छन् ।
चीनको हुबेई प्रान्तको वुहानबाट महामारी सुरू भएयता अमेरिकामा कोरोनाभाइरसका कारण मृत्यु भएको यो पहिलो घटना हो ।
सो घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थुप्रै अन्य मामिलाको सम्भावना भएको भएपनि अमेरिका कुनै पनि परिस्थितिका लागि तयार भइसकेको बताए ।
उनले आफ्ना नागरिकहरूलाई नआत्तिन भनेका छन् । अमेरिकी अधिकारीहरूले कोरोनाभाइरसको प्रकोपमा रहेका दक्षिण कोरिया, इरान र इटालीका भूभागहरूमा भ्रमण नगर्न भनेको छ ।
अमेरिकाका स्वास्थ्य अधिकारीहरूले मृत्यु भएका व्यक्तिले संक्रमणको जोखिम रहेका कुनै पनि क्षेत्रमा भ्रमण नगरेको बताए ।
हालसम्म संसारका ५७ देशमा कोरोनाभाइरसबाट ८५ हजार मानिसहरू संक्रमित भएका छन् भने यसबाट करिब ३ हजार जनाले आफ्नो ज्यान गुमाइसकेका छन् । यसमा अधिकांश मृतक र संक्रमित चीनबाट रहेका छन् ।
पछिल्ला दिनमा यसको प्रभाव दक्षिण कोरिया, इटाली र रानमा धेरै देखिएको छ भने अन्य मुलुकमा पनि मामिलाहरू सार्वजनिक भइसकेका छन् ।