सवारीसाधनमाथि कारबाही तीव्र |
जनकपुरधाम (अस) । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले ट्राफिक कारबाहीलाई तीव्र बनाएको छ । कार्यालयले नियमविपरीत चलाउने सवारीसाधनका कारण बढ्दो सडक दुर्घटना रोक्न तथा व्यवस्थित पार्किङका लागि विशेष कारबाही शुरू गरेको हो ।
जनकपुरधाम उपमहानगरपालिकामा अव्यवस्थित सवारीसाधन पार्किङ तथा सडक दुर्घटना नियन्त्रणका लागि सवारीसाधन चेकजाँचमा कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख दीपक साहले बताए । दैनिक सवारीसाधन चेकजाँचकै क्रममा विभिन्न ठाउँमा सोमवार ओभर लोड, सवारीचालक अनुमतिपत्र नभएका, कागजपत्र साथमा नभएको गरी १ सय ७ सवारीसाधन कारबाहीमा परेको साहले जानकारी दिए ।
उपमहानगरभित्र साँघुरो सडक र धेरै मात्रामा सवारीसाधनका कारण पार्किङमा समस्या रहेकाले विशेष कारबाही अगाडि बढाउनुपरेको उनको भनाइ छ । उनले सडक अनुशासनबारे सबै चालकमा चेतना बढाउने र कारबाहीलाई झन् तीव्र बनाइने जानकारी दिए ।