सञ्चारमन्त्री बास्कोटाले दिए राजीनामा |
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा स्वीस कम्पनीका एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिएका हुन् ।
उनले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएका छन्।
बाँस्कोटाको राजीनामापछि दुई मन्त्रालयमा नेतृत्व खाली भएको छ। गत पुस २५ देखि बाँस्कोटाले सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका थिए।
उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री ओलीले आफ्ना विश्वासपात्र बाँस्कोटालाई उक्त मन्त्रालयको जिम्मेवारी दिएका थिए।
त्यतिबेला खाली भएको कानुन मन्त्रालयमा केही दिनअघि शिवमाया तुम्बाहाङ्फे मन्त्री नियुक्त भइसकेकी छन्।
के हो अडियो प्रकरण ?
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया अगाडि बढाएसँगै बास्कोटा विवादमा तानिएका थिए । तर मन्त्रिपरिषद्ले जीटुजीमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्ने निर्णय गर्दै फ्रान्स वा जर्मन मध्ये ऐन नियमअनुसार उपयुक्त प्रस्ताव रोज्न बास्कोटालाई नै दियो ।
स्वीस कम्पनी यो रेसबाट बाहिरियो । संसदको सार्वजनिक लेखा समितिमा पनि यसबारे उजुरी पर्यो ।
बिहीबार सेक्युरिटी प्रिन्टिङ प्रेसबारे छलफल गर्न समितिको बैठक बोलाइएको थियो । त्यसको अघिल्लो दिन बास्कोटा र स्वीस कम्पनीका एजेन्ट विजय मिश्रबीच कमिसनबारे कुराकानीको अडियो लिक भएको हो ।