सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ ː अर्थमन्त्री |
काठमाडौं । ललितपुरको हरिहरभवनस्थित सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको नयाँ भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको र बजारमा ६ प्रतिशत भन्दा माथिको बहस हुने गरेको बताएका छन् ।
उनले भने ‘राज्यसत्तामा रहँदा ३∕४ प्रतिशत आर्थिक वृद्धि गर्नेहरु अहिले ८ प्रतिशत आर्थिक वृद्धि नहुने भन्दै आलोचना गर्न अगाडि सरेको देखिन्छ ।’ ६∕७ प्रतिशतको मात्रै वृद्धिदर हुने र सरकारको ८ प्रतिशतको लक्ष्य पुरा नहुने भन्दै उनीहरु आलोचना गर्न अग्रसर हुने गरेको खतिवडाको भनाइ छ ।
‘कसैकसैले आर्थिक वृद्धि ८ प्रतिशत हुँदैन भनेर ठूलो वहस चलाइरहनुु भएको छ भन्दा ६∕७ को कुरा गर्नुहुन्छ वहसको स्तर नै अब ५ प्रतिशत भन्दा माथि पुगेको छ । ३∕४ प्रतिशतको कुरै गर्न छाडनुभयो वहाँहरु पनि, कसै कसैले त आफै राज्य सञ्चालनमा हुँदा त्यही चार प्रतिशत पनि नपुगेर त्यही राज्य सञ्चालनबाट बाहिर जानुभएको छ, समाजले यी कुराको मुल्याङ्कन गर्छ ।’
सरकारले एकपक्षीय ढंगले मात्रै आर्थिक वृद्धिको कुरा नगरेको भन्दै उनले अंक र अनुभुति पनि बोलेको बताए । अर्थमन्त्री खतिवडाले दुई वर्षमा औसतभन्दा माथि आर्थिक उपलब्धि हासिल गर्न सकेको बताए। उनले आर्थिक वृद्धि, सुशासन, भ्रष्टाचार निवारण तथा समाजको रुपमान्तरणमा औसतभन्दा माथिको उपलब्धि भएको बताए ।
कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रले दिने तालिमको मोडलमा परिवर्तन गर्नुपर्ने बताए । उनले वित्तीय संघीयताको पाटोमा अलिकति सुधार गर्नुपर्ने र त्यसका लागि तालिम केन्द्रको अभ्यास अगाडि बढाउनुपर्ने तालिम केन्द्रलाई अनुसन्धान उन्मुख बनाउनुपर्ने बताए ।
कार्यक्रममा सरकारले एकीकृत वित्तीय विवरण तयार गर्ने अवस्थाको पुरानो परिपाटीलाई अन्त्य गर्न तालिम केन्दले महत्वपूर्ण कार्यक्रमहरु ल्याउन सक्नेमा जोड दिइएको थियो । तालिम केन्द्रको नयाँ भवन निर्माणमा २९ करोड ३३ लाख ७ हजार रुपैयाँ लागत लाग्ने अनुमान गरिएकोमा २२ करोड ५२ लाख ३० हजार रुपैयाँमा सम्पन्न भएको छ ।