बलात्कार मुद्दामा महरालाई सफाइ |
काठमाडौं । संसद सचिवालयकी एक कर्मचारीलाई जवरजस्ती करणी गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् ।
काठमाडौं जिल्ला अदालतले सोमबार फैसला गर्दै महरालाई सफाइ दिएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । ‘उहाँ (महरा) ले सफाइ पाउनुभयो,’ श्रेस्तेदार श्रेष्ठले भने । काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो ।
फैसलापछि महरा काठमाडौं जिल्ला अदालतबाट बाहिरिएका छन् । उनले सञ्चारकर्मीहरूलाई कुनै प्रतिक्रिया दिएनन् । महरालाई प्रहरीले डिल्लीबजारस्थित कारागार लगेको छ ।
महरालाई लागेको अभियोगबारे आइतबार अन्तिम सुनुवाइ भएको थियो । यसअघि महराले आफूलाई जेल पठाउने जिल्ला अदालत काठमाडौंको फैसलाविरूद्ध पाटन उच्च अदालतमा निवेदन दिएका थिए । उच्च अदालतले जिल्लाको फैसलालाई सदर गरिदिएको थियो । उच्चले महिना दिनभित्र उक्त मुद्दाको अन्तिम टुंगो लगाउन पनि भनेको थियो ।
असोज १२ गते राति महरा आएर पहिले रक्सी खाएको त्यसपछि बलात्कार प्रयास गरेको रोशनीले प्रहरीलाई भनेकी थिइन् । ‘प्रहरीलाई भनिदिन्छु’ भनेपछि महरा हतारहतार निस्किएको शाहीले भोलिपल्ट पत्रकार अजयबाबु सिवाकोटीसँगको भिडिओ अन्तर्वार्तामा पनि बताएकी थिइन् ।
त्यसरी हतारहतार निस्किँदा कोठामै छुटेका जुत्ताको तलुवा, फुटेको चस्माको एउटा सिसा र चस्माको भाँचिएको खुट्टा प्रहरीले बरामद गरेको थियो । महराले आफूलाई बलात्कार गर्न खोजेको, नमानेपछि कुटपिट गरेको र त्यसपछि आफूले प्रहरीलाई बोलाएर सबै कुरा भनेको भन्दै रोशनीले त्यही रात साढे ११ बजे आफूलाई बताएकी सांसद उमा रेग्मीले प्रहरीसामू कागज गरिदिएकी थिइन् ।
त्यस्तै, पत्रकार अजयबाबु सिवाकोटीले गरेको कागज महराविरूद्धको अर्को प्रमाणका रुपमा जुटाइएको थियो । उनले रोशनीसँग लिएको भिडिओ अन्तरवार्ता, उक्त भिडिओ लिँदालिँदै महराको नम्बरबाट आएको कल, रोशनीले फर्काएको जवाफलाई पनि प्रमाणको रूपमा मिसिल संलग्न गरेको थियो ।
यी सबै तथ्य र प्रमाणका आधारमा सरकारी वकिल कार्यालयले महराविरूद्ध जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोप लगाएको हो । पीडितलाई रक्सी खुवाएर अनुचित प्रभावमा पारेर महराले जबरजस्ती करणी गर्ने प्रयास गरेको सरकारी वकिलको ठहर छ ।