व्यापार घाटा ६ प्रतिशतले घट्यो, शोधनान्तर २६ अर्ब बचतमा |
काठमाडौं । यस आर्थिक वर्षको मध्यावधिसम्म मुलुकको व्यापार घाटामा ६ प्रतिशतले कमी आएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि पुससम्मको व्यापार घाटामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६. १ प्रतिशतले कमी आएको हो ।
मध्यावधिसम्म व्यापार घाटा ६ र्खा ३७ अर्ब रुपैयाँ छ। गत वर्षको सोही अवधिमा व्यापार घाटा ३२ प्रतिशतले बढेको थियो । यस अवधिमा बस्तु निर्यात २६.१ प्रतिशतले बढेको छ। अर्थात ५७ अर्ब २८ करोडको बस्तु निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११.५ प्रतिशतले बढेको थियो ।
गन्तव्यका आधारमा भारततर्फ ४५.८ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ८.५ प्रतिशत र अन्य मुलुकतर्फ ३.८ प्रतिशतले घटेको छ ।
वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, आयुर्वे्दिक औषधि, दाल लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, तामाको तार लगायतका वस्तुहरुको निर्यात घटेको छ ।
सोही अवधिमा आयातित बस्तु भने ४ प्रतिशतले घटेको छ । अर्थात यस अवधिमा ६ खर्ब ९४ अर्बको विदेशी सामान आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३०.५ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ९.१ प्रतिशतले घटेको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२.१ र ०.४ प्रतिशतले बढेको छ ।
वस्तुगत आधारमा कच्चा पाम तेल, हटरोल सिट, रासायनिक मल, मेसिनरी तथा पार्टपुर्जा, विद्युतीय उपकरण लगायतका वस्तुको आयात बढेको छ भने एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका साधन तथा पार्टपुर्जा, सिमेन्ट लगायतका वस्तुको आयात घटेको छ ।
भन्सार नाकाका आधारमा निर्याततर्फ वीरगंज, विराटनगर, त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल, मेची र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाहरुबाट गरिएको निर्यातमा ह्रास आएको छ। आयाततर्फ सुख्खा बन्दरगाह, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाहरुबाट भएको आयातमा ह्रास आएको छ ।
निर्यात–आयात अनुपात ८.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.३ प्रतिशत थियो । व्यापार घाटासँगै रेमिट्यान्स आप्रवाहको वृद्धिदर पनि खुम्चिएको छ। समीक्षा अवधिमा ०.९ प्रतिशतले रेमिट्यान्स बढेको छ। ६ महिनामा कुल ४४७ अर्ब २६ करोड रेमिट्यान्स भित्रिएको छ। गत वर्षको यसै अवधिमा रेमिट्यान्स ३०.२ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.३ प्रतिशतले बढेको छ ।
अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा १७.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३७.३ प्रतिशतले घटेको थियो ।
पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ०.५ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.५ प्रतिशतले बढेको थियो ।
चालु खाता एवम् शोधनान्तर स्थिति
समीक्षा अवधिमा चालु खाता घाटा ८४ अर्ब ७१ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ खर्ब ५२ अर्ब १६ करोड रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको ६ महिनासम्ममा १ अर्ब ३३ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा ७४ करोड ३९ लाख रहेको छ ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति २६ अर्ब ६५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६३ अर्ब ६८ करोडले घाटामा रहेको थियो ।