यस्तो छ धितोपत्र बोर्डले लागू गरेको बुक बिल्डिङ्ग बिधि |
काठमाडौं । नेपाल धितोपत्र बोर्डले फागुन १ गतेदेखि शेयर बजारको प्राथमिक बजारमा बुक बिल्डिङ्ग विधि लागू गरेको छ । बोर्डले धितोपत्र दर्ता तथा निष्काशन (तेस्रो संशोधन) नियमावली, २०७६ जारी गरी बुक बिल्डिङ्ग बिधिको सुरुवात गर्ने भएको हो ।
यद्यपि नेपालको शेयर बजारमा यो बिधि बिल्कुलै नयाँ बिधिको रुपमा रहेको छ । धितोपत्र बोर्डले लागूू गरेसँगै लगानीकर्ताले शेयर बजारमा बुक बिल्डिङ्ग विधि कसरी लागू हुने र यसले बजारमा कस्तो प्रभाव पार्न सक्दछ भन्ने विषयलाई चासोका रुपमा लिएको पाइन्छ ।
बुक बिल्डिङ्ग विधि
साधारणतया सार्वजनिक निष्काशनमा आउने शेयरको मूल्य निर्धारण गर्ने विधि नै बुक बिल्डिङ्ग विधि हो । यसले प्राथमिक बजारमा निष्काशन गरिने धितोपत्र तथा शेयरको वास्तविक र न्यायोचित मूल्य निर्धारण गर्दछ ।
बोर्डले जथाभावी रुपमा कम्पनीहरुलाई प्रिमियममा आईपीओ तथा एफपीओ निष्काशन गर्न अनुमति दिँदा लगानीकर्ताहरुले बजारबाट आफ्नो लगानी गुमाउनु परेको आरोप लगाउँदै आएका छन् । यसलाई मध्यनजर गर्दै बोर्डले प्रथामिक निष्काशमा बिल्डिङ्ग विधि लागू गरेको हो ।
प्राथमिक बजार बिल्डिङ्ग विधिमा जाने भन्ने बारेमा नीतिगत व्यवस्था भएको तर यसलाई कसरी लैजाने र कसरी काम गर्छ भन्ने बारेमा चाहिँ निर्दे्शिकामा थप स्पष्ट रुपमा उल्लेख गरिने बोर्डले बताएको छ ।
नेपालको पूँजीबजारमा वास्तविक क्षेत्रका (रियल सेक्टर) कम्पनीहरु अत्यन्त न्यून रहेको हुदा त्यस्ता कम्पनीलाई बजारमा प्रवेश गराउनका लागि पनि बुक विल्डिङ्गको आवश्यक रहेको विज्ञहरुको भनाई छ ।
बुक विल्डिङ्ग लागू भएपछि प्राथमिक बजारको मूल्य निर्धारण प्रकृया अझ पारदर्शी हुन्छ भन्ने उद्देश्यले नै उक्त व्यवस्था ल्याईएको हो । बुक विल्डिङ्गलाई छिट्टै कार्यान्वयनमा ल्याउनका लागि निर्दे्शिका बनाउने काम पनि अगाडि बढिसकेको बताइएको छ ।
अर्थ मन्त्रालयले गठन गरेको अध्ययन समितिले बुझाएको सुझाव प्रतिवेदनमा ४६ नम्बरमा बुक बिल्डिङ्ग विधि लागू नभएसम्म आईपीओमा नेटवर्थको दुई गुणासम्म र एफपीओमा नेटवर्थ बराबर मूल्य निधारण गरेर धितोपत्रको सार्वजनिक निष्काशन गर्नु पर्ने उल्लेख गरेको छ । उक्त विधिको सुरुवात गरेर बोर्डले अर्थमन्त्रालयको साही निर्देशनलाई कार्यान्वयनमा ल्याएको हो ।
धितोपत्र दर्ता तथा निष्काशन (तेस्रो संशोधन) नियमावली, २०७६ अनुसार, बुक बिल्डिङ्ग विधिबाट सार्वजनिक निष्काशन गर्ने कम्पनीले तीन आर्थिक वर्षदेखि लगातार खुद मुनाफामा सञ्चालन भएको हुनुपर्ने पहिलो शर्त राखेको छ । त्यसैगरी सार्वजनिक निष्काशन गर्ने कम्पनीको वार्षिक साभारण सभाले यस बिधि मार्फत शेयर जारी गर्ने प्रस्ताव पारित गरी प्रतिशेयर नेटवर्थ प्रतिशेयर चुक्ता पूँजीको कम्तिमा १५० प्रतिशत रहनुपर्ने र कम्पनीको आईपिओ जारी गर्ने क्रेडिट रेटिङ्गको ग्रेड कम्तिमा औसत वा सो भन्दा माथिल्लो हुनुपर्ने व्यवस्था गरेको हो ।
शेयर निष्काशन गर्न योग्यता पुगेका कम्पनीहरुले बुक विल्डिङ्ग विधि मार्फत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा योग्य संस्थागत लगानीकर्ताबाट खरिद आशय मूल्य प्राप्त गर्नुपर्ने व्यवस्था गरेको छ ।
यस्तै उक्त शेयरको बिक्री मूल्यको सीमा निर्धारण गरी योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्रको ४० प्रतिशत र सर्वसाधारण लगानीकर्ताको लागि ६० प्रतिशत धितोपत्र निष्काशन गर्नुपर्ने नियमावलीमा उल्लेख छ । उक्त कम्पनीको शेयर बजारमा सूचीकरण भएको मितिले छ महिनासम्म बिक्री वा हस्तान्तरण गर्न नपाउने व्यवस्था नियमावलीमा छ । बुक विल्डिङ्ग मार्फत शेयर खरिद गर्ने संस्थागत लगानीकर्ता बोर्डबाट स्वीकृत प्राप्त हुनु पर्नेछ ।
यस बिधि विश्वका अधिकांश राष्ट्रहरुमा प्रयोगमा ल्याएको पाईन्छ । हाम्रो छिमेकी देशहरु भारत चीन, पाकिस्तान लगायतमा पनि बुक विल्डिङ्गमार्फत मूल्य निर्धारण गर्ने गरेको पाइन्छ ।
भारतमा सार्वजनिक निष्काशन गर्दा सबै बुक विल्डिङ्गबाट गर्ने वा बुक विल्डिङ्गमार्फत ७५ प्रतिशत तथा निश्चित मूल्यबाट २५ प्रतिशत गर्ने गरेको पाइन्छ । भारतमा प्राथमिक निष्काशनको रकममध्ये रिटेल ईण्डिभिडियुल ईन्भेष्टर्सलाई ३५ प्रतिशत, नन ईन्ष्टिच्युशनल बिडर्सलाई १५ प्रतिशत र क्वालिफाईड ईन्ष्टिच्युशनललाई ५० प्रतिशत छुट्याईने गरेको पाइन्छ । भारतमा बुक विल्डिङ्गबाट शेयर निष्काशन गर्दा मर्चेन्ट बैंकले दुई तरिकाबाट मूल्य निर्धारण गरेको पाइन्छ ।
चीनमा बुक विल्डिङ्ग र मूल्य बढाबढ प्रक्रियाबाट शेयरकोे सार्वजनिक निष्काशन गर्ने गरिन्छ । बोलकबोल र बुक विल्डिङ्ग विधिबाट धितोपत्र बिक्री गर्दा मूल्य आम्दानी अनुपात १५ देखि २० गुुणा भित्रमा हुनुपर्ने तोकिएको छ ।नेपालमा भने ६० सर्बसाधारणलाई र ४० संगठित संस्थालाइ दिनु पर्ने प्रावधान राखिएको छ ।