कोरोनाबाट मर्नेकाे संख्या ९ सय नाघ्यो | ‘संक्रमण भित्रिन सक्ने सम्भावित अवस्थाका लागि तयार रहनुस्’
काठमडाैं । चीनमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ९ सय नाघेको छ । गत वर्षको अन्त्यदेखि चीनको वुहान प्रान्तबाट सुरु भएको यो भाइरसको संक्रमणबारे अध्ययन गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एउटा टोलीलाई चीनमा नै खटाएको छ ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले फेब्रुअरी ९ मा थप ९७ जनाले ज्यान गुमाएको जनाएको छ । योसँगै चीनमा यस भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ९ सय ८ पुगेको छ । ज्यान गुमाउने अधिकांश वुहान र हुबेई प्रान्तआसपासका रहेको बताइएको छ । यस रोगबाट देशभर हालसम्म ४० हजार १ सय ७१ जना प्रभावित भएका छन् ।
अहिलेसम्म कोरोनाभाइरसको सङ्क्रमण विश्वका २५ देशमा फैलिइसकेको पुष्टि भएको छ । धेरै राष्ट्रले आफ्ना देशका नागरिकलाई हुवेईबाट फिर्ता लगिसकेका छन्भने मुख्य एयरलाइन्सले चीनमा आफ्नो सेवालाई तत्कालका लागि बन्द गरेको छ ।
संक्रमण फैलिएसँगै डब्लुएचओका प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले चीनमा यात्राको इतिहास नभएकाहरुमा पनि यो रोगको संक्रमण फैलिएको देखिएकोमा चिन्ता व्यक्त गरे । उनले भने, ‘अरु देशहरूमा सानो संख्यामा संक्रमण फैलिएको देखिएको छ । तर, यो हामीले देखेको हिमशिला ‘आइसबर्ग’ मात्र हुन सक्छ ।’
उनले सबै राष्ट्रलाई कोरोना भाइरसको संक्रमण भित्रिन सक्ने सम्भावित अवस्थाबारे तयार रहन आग्रह गरेका छन् । साथै, सबैलाई नअत्तालिनसमेत भनेका छन् ।
हालसम्म यस भाइरसको संक्रमणबाट चीनबाहिरका दुई देश हङकङ र फिलिपिन्समा मानिसले ज्यान गुमाएको बताइएको छन् । (एजेन्सीबाट)