३ सय रुपैयाँले एक महिना खाजा, अभिभावक खुशी |
सल्यान । सल्यानको एक विद्यालयले प्रतिविद्यार्थी ३ सय रुपैयाँ उठाएर विद्यार्थीहरूलाई स्कूलमै खाजा खुवाउन थालेको छ । छत्रेश्वरी गाउँपालिका– ५, लेखपोखरास्थित कालिका प्राथमिक विद्यालयले बाँकी पैसा विद्यालयले नै जोहो गरेर दिवा खाजा खुजाउन शुरू गरेको हो । घरबाट खाजा बोकेर विद्यालय आउने विद्यार्थीहरू विद्यालयमै खाजा खान पाइने भएपछि खुशी पनि भएका छन् । खाजा स्कूलमै खुवाउने व्यवस्था गरेपछि अहिले विद्यालयमा विद्यार्थी संख्या पनि बढ्दै गएको छ ।
विद्यालयले त्यस्तो व्यवस्था मिलाएपछि आफूलाई धेरै सजिलो भएको अभिभावक केशर भण्डारीले बताए । उनले भने, ‘सधै घरबाट कि त खाजा, कि त पैसा दिएर पठाउनुपथ्र्यो, अहिले विद्यालयले राम्रो काम गरेको छ ।’ विद्यालयका दिवाखाजा व्यवस्थापन समितिका अध्यक्ष डम्बरबहादुर खत्रीले भने, ‘हामीले २ जना न्यूनतम ज्यालामा कर्मचारी राखेका छौँ, उनीहरूले खाजा बनाउने र खुवाउने काम गर्छन् । ’हाल विद्यालयले ७९ जना विद्यार्थीलाई दिवाखाजा खुवाउने गरेको प्रधानाध्यापक बालाराम वलीले बताए । उनले विद्यालयमा दिवाखाजा खुवाउन थालेपछि विद्यार्थीहरु दैनिक स्कूल आउन थालेको पनि बताए । उनले दिवा खाजामा पोषणयुक्त खानेकुरा मिलाएर दिने गरेको पनि जानकारी दिए ।