नेपालमा धेरै रेमिट्यान्स कतारबाट, भारत दोस्रो, नेपाली कामदार १७२ मुलुकमा |
काठमाडौं । नेपालमा यस आर्थिक वर्षको पहिलो चार महिनामा कतारबाट आउने रेमिट्यान्स सबैभन्दा उच्च देखिएको छ । चालु आर्थिक वर्षको चार महिनाको तथ्यांकसहित नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको रेमिट्यान्ससम्बन्धी नयाँ अध्ययन प्रतिवेदनले खाडी मुलुकहरुबाट आउने विप्रेषण कुल विप्रेषणको ५०.३ प्रतिशत रहेको देखाएको छ ।
राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुख डा. गुणाकर भट्टको संयोजकत्वमा भएको अनुसन्धानअनुसार खाडीको पनि कतारबाट सबभन्दा वढी (१७.७ प्रतिशत) विप्रेषण आएको छ ।
दोस्रोमा संयुक्त अरब इमिरेट्स (यूएई) बाट १३.४ प्रतिशत र तेस्रोमा साउदी अरेबिया १२.५ प्रतिशत विप्रेषण आएको देखिन्छ । मलेसियाबाट आएको विप्रेषणको हिस्सा ९.७ प्रतिशत मात्र छ ।
प्रमुख श्रम गन्तव्य मलेसियामा नेपाली कामदार जाने क्रम बन्द भएका कारण आव २०७५∕०७६ मा त्यहाँबाट प्राप्त हुने विप्रषेण पनि घटेको डा. भट्टले बताए । आगामी दिनमा मलेसिया जानेको संख्या र आउने विप्रेषणमा वृद्धि हुने अनुमान उनले गरे ।
नेपालको लागि विप्रेषणको स्रोत मुलुकको सूचीमा भारत दोस्रो स्थानमा उक्लिएको छ । समग्रमा हेर्दा पहिलोमा कतार दोस्रो स्थानमा भारत देखिएको छ ।
राष्ट्र बैंकले चालु आवको पहिलो चार महिनामा कतारबाट ५३ अर्ब ९३ करोड र भारतबाट ४३ अर्ब १६ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको देखाएको छ । यो अवधिमा कुल ३ खर्ब ४ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । यसमा कतारको हिस्सा १७ दशमलव ७ प्रतिशत र भारतको हिस्सा १४ दशमलव २ प्रतिशत छ ।
खुला सिमानाका कारण भारतमा रहेका नेपाली श्रमिकहरुको एकिन तथ्यांक निकाल्न मुश्किल छ । रेमिट्यान्स प्रवाहमा भने भारतको भूमिका महत्वपूर्ण देखिएको छ ।
अहिले धेरै रेमिट्यान्स नेपाल आउने मुलुकमध्ये तेस्रो नम्बरमा रहेको युएईबाट यो अवधिमा कुल ४० अर्ब ८७ करोड रुपैयाँ भित्रिएको छ । केहि वर्ष अघिसम्म पहिलो स्थानमा रहेको मलेसिया भने पाँचौ नम्बरमा पुगेको छ । यो अवधिमा कुल रेमिट्यान्सको २९ अर्ब ६६ करोड (९ दशमलव ७ प्रतिशत) मात्र मलेसियाबाट भित्रिएको छ ।
त्यस्तै, नेपाल भित्रिएको कुल रेमिट्यान्समा संयुक्त राज्य अमेरिकाको हिस्सा ८ दशमलव ३ प्रतिशत देखिएको छ ।