प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम राख्ने सहमति |
जनकपुरधाम । प्रदेश २ को स्थायी राजधानी जनकधपुरधाम नै रहने भएको छ । प्रदेशसभाका सभामुख सरोजकुमार यादव नेतृत्वमा रहेको विशेष संसदीय समितिले प्रदेशको स्थायी राजधानीबारे सहमति जुटाएको हो । ‘सबै दलको सहमतिमा राजधानी तोक्ने काम भएको छ’ उनले भने, ‘संसदीय प्रक्रिया भने पूरा गर्न बाँकी छ ।’
यादवका अनुसार प्रदेश राजधानीको सीमा उत्तरमा पूर्वपश्चिम राजमार्ग्स्थित ढल्केबर, दक्षिणमा भारतीय सीमासम्म तथा पूर्व र पश्चिम परिक्रमा रोड रहनेछ ।
सबै दलको सहमतिमा राजधानी तोक्ने काम भएकाले प्रदेशसभाबाट पारित हुने सभामुख यादवले बताए । ‘सर्वसम्मत निर्णय भए पनि प्रदेशसभामा मतदान गर्नैपर्ने हुन्छ’ उनले भने, ‘पक्षमा दुई तिहाई मतदान भए मात्रै यो पारित हुन्छ ।’
५ भदौमा दलहरुले प्रदेशको स्थायी राजधानीका लागि चार वटा फरक फरक प्रस्ताव दर्ता भएको छ । सत्तासिन समाजवादी र राजपाले संयुक्त रुपमा प्रस्ताव दर्ता गराउँदा राजधानी जनकपुरधाम मिथिला माध्यमिकी परिक्रमा सडक र धनुषाको उत्तरमा ढल्केबर पूर्वपश्चिम राजमार्गको पूर्वमा कमला नदी र दक्षिणमा नेपालको सिमासम्मको भागलाई राजधानी तोक्न प्रस्ताव गरेको थियो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जनकपुर परिक्रमा मार्गसहित धनुषा जिल्लालाई राजधानी बनाउन प्रस्ताव गर्दा नेपाली कांग्रेसले जनकपुर उपमहानगरपालिकाभित्र राख्नुपर्ने प्रस्ताव गरेको छ । यस्तै पर्साका प्रदेशसभा सदस्यहरुले भने वीरगञ्जलाई राजधानी बनाउनुपर्ने भन्दै प्रस्ताव दर्ता गराएका थिए ।