बोलेर हुने अवस्था छैन, गरेर देखाउने बेला भएको छ ː अर्थमन्त्री खतिवडा | राजश्वको लक्ष्य पूरा गर्न व्यवसायीलाई डण्डा नलगाउने
काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले राजश्वको लक्ष्य पूरा गर्न व्यवसायीलाई डण्डा नलगाउने बताएका छन् । ६८ औं अन्तर्रा्ष्ट्रिय भन्सार दिवसको अबसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै डा. खतिवडाले यस्तो बताएका हुन् ।
सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान गलत गर्नेका लागि मात्रै आकर्षण हुने उनले बताउँदै ‘निजी क्षेत्रका साथीहरू आत्तिएको पाएँ । यस्तो होइन, गलत ठाउँमा मात्रै डण्डा चल्छ’ उनले भने ।
राजश्व लक्ष्यलाई लिएर आफू नडराएको भन्दै उनले यसका लागि निजी क्षेत्रमाथि डण्ठा नचलाउने बताएका छन् । उनले विदेशी मुद्रा सञ्चितिमा मुलुक दक्षिण एसियामै राम्रो रहेको तथा बैंक ब्याजदरको समस्या नरहेको धारणा राखे ।
उनले अर्थतन्त्र सकारात्मक बाटोमा रहेको र सरकारी नीति असल व्यवसायीका लागि फलदायी रहेको प्रष्ट्याए । उनले भने, ‘नेपाल क्रमश आयातामा आधारित राजस्व प्रणालीबाट आन्तरिक उत्पादन र व्यापारमा आधारित हुदै गएको र यो अर्थतन्त्रको सकारात्मक संकेत हो ।’
खतिवडाले सरकारले नियमनकालागि ल्याएका कानूनी व्यवस्था र संरचनाहरु असल काम गर्नेका लागि नभै गलत काम गर्नेका लागि मात्र भएको बताए । साथै उनले व्यापार गर्दा जगत र मानवको हितलाई ध्यान दिनपर्ने भन्सार दिवसको नाराको सान्दर्भिकता रहेको उल्लेख गरे । उनले भने, ‘नेपालमा औद्योगिक वातावरण बनाउन औद्योगिक संरक्षण, व्यापार सहजीकरण र स्वच्छ व्यापारलाई केन्द्रभागमा राखेर नेपाल सरकारले भन्सार प्रशासनलाई अभिमुख गरेको छ ।’
उनले आय भएको ठाउँमा मात्रै राजस्व उठाउने र व्यवसायीलाई नावश्यक दुःख दिएर लक्ष्य पूरा गर्ने योजना नभएको दावी गर्दै भने, ‘राजस्व घट्दा पनि चिन्ता नगर्ने मन्त्री पाउनु भएको छ, खुसी हुनुस् । भन्सार राजस्व कम भएर केही हुन्न आन्तरिक राजस्व राम्रो छ । अन्तःशुल्क, भ्याट र आयकरको संकलन राम्रो छ ।’
खतिवडाले भन्सारको सन्दर्भमा महशुल अहिले नै घटाउन नसकिने बताए । त्यसका लागि पहिले व्यवसायीले विकृति हटाउने र सामानको गुणस्तरमा ध्यान दिन सल्लाह दिए । उनले विकृति हटेपछि मूल्य घटाउने बताउँदै आगामी दुई वर्ष्भित्र भन्सार प्रणालीलाई कागजविहीन बनाइने बताए ।
त्यस्तै, भन्सार विभागका महानिर्देशक सुमन दाहालले भन्सारलाई थप पारदर्शी बनाउन प्रविधिको अधिकतम् प्रयोग गरिने बताए । भन्सार सुधार तथा आधुनिकीकरण गर्न त्यससम्बन्धी नीति, कानुन बनाउन प्रक्रिया अगाडि बडाइएको जानकारी दिँदै उनले व्यापार सहजीकरणमा खास नीतिको सरलीकरण, एकीकरण र व्यापार प्रक्रियामा सुधार भइरहेको बताए । हरेक बर्ष जनवरी २६ लाई विश्वभर अन्तर्रा्ष्ट्रिय भन्सार दिवसको अवसरमा मनाउने गरिन्छ ।
व्यापार सहजीकरणका लागि भारत, चीन र बंगलादेशसँग फरक फरक द्धिपक्षीय संयन्त्रहरु क्रियाशील छन् । यस्ता संयन्त्रले सीमावर्ती भन्सारमा नीतिगत एकरुपता सहजीकरण, सूचना आदानप्रदान र समन्वयको काम गरिरहेका विभागको भनाई छ । चीनसँग भन्सार सहयोग सम्झौता सम्पन्न भएको छ भने भारतसँग यस्तो सम्झौता हुने प्रक्रियामा छ ।
भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा भन्सार व्यापार सहजीकरण समिति केन्द्रमा क्रियाशील रहेको छ । निजी क्षेत्र र अन्य सरोकारवाला निकायबीच समन्वय गरिरहेको जनाइएको छ । पाँचौँ चरणको भन्सार सुधार तथा आधुनिकीकरण रणनीति एवं कार्ययोजना कार्यान्वयनमा छ ।
भन्सार विन्दुमा करिब ४२ प्रतिशत हरियो र पहेँलो मार्गबाट र बाँकी ५८ प्रतिशत रातो मार्गबाट जाँचपास भएको छ । रातो मार्ग भौतिक परीक्षण हुने जाँच प्रणाली हो । पूर्वाधार विकास निर्माण र सुधारमा भन्सार क्रियाशील रहेको र विभागले कुल राजस्वको करिब ५० प्रतिशत राजस्व संकलन गर्दै आएको छ । यस्तै विभागले प्रत्यक्ष राजश्व संकलन ड्यासबोर्ड पनि कार्यनयनमा ल्याएको छ ।