सार्वजनिक ऋण ११ खर्बभन्दा बढि, ६ महिनामा थपियो साढे ५१ अर्ब |
काठमाडौं । नेपालको सार्वजनिक ऋण ११ खर्बभन्दा बढि पुगेको छ । चालु आर्थिक वर्ष २०७६∕७७ को पहिलो ६ महिनासम्मको तथ्यांक अनुसार नेपालको सार्वजनिक ऋण ११ खर्ब ५ अर्ब पुगेको हो । यसमध्ये बाहृय ऋण ६ खर्ब ५४ अर्ब ४ करोड र आन्तरिक ऋण ४ खर्ब ५१ अर्ब ९ करोड रुपैयाँ रहेको छ । सरकारले बजेटरी वा गैरबजेटरी रुपमा विकास निर्माण तथा सार्वजनिक प्रयोजनमा लिएको ऋण नै सार्वजनिक ऋण हो ।
आर्थिक वर्षको ६ महिनामा अघिल्लो तीन महिनाको तुलनामा २२ अर्ब ५७ करोड रुपैयाँले बाहृय ऋण वृद्धि भएको छ । आन्तरिक ऋण भने केही घटेको छ । आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा बाहृय ऋण ३.५७ प्रतिशतले बढेको हो ।
यसबीचमा नेपाली मुद्रा कमजोर भएका कारण समेत सार्वजनिक ऋण बढ्नुमा भूमिका खेलेको महालेखा नियन्त्रक कार्यालयले उल्लेख गरेको छ । अहिले आन्तरिक ऋण ४ खर्ब ५१ अर्ब ९ करोड रुपैयाँ छ भने ११ खर्ब ५ अर्ब १३ करोड रुपैयाँ छ ।
अर्थ मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५∕७६ को अन्त्यसम्म सरकारलाई १० खर्ब ४१ अर्ब रुपैयाँ ऋण लागेको थियो । चालु आवमा भने सरकारले वैदेशिक ऋण सहायता उल्लेख्य स्वीकार गरेको छ ।
जीडीपीको ३१.९० प्रतिशत ऋण
नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी)को ३१.९० प्रतिशत सार्वजनिक ऋण पुगेको छ । पहिलो त्रैमासिकमा यस्तो अनुपात ३१.३२ प्रतिशत रहेको छ । कूल गार्ह्रस्थ उत्पादनको तुलनामा भने नेपालको सार्वजनिक ऋणलाई विज्ञहरु संतोषजनक नै मान्छन् ।
जीडीपीको १८.८७ प्रतिशत बाहृय ऋण छ भने १३.०२ प्रतिशत आन्तरिक ऋण रहेको छ । नेपालको जीडीपी भने ३४ खर्ब ६४ अर्ब ३१ करोड रुपैयाँ बराबरको रहेको छ ।
आव २०७५∕७६ को अन्त्यसम्म सरकारी ऋण कूल गार्हस्थ उत्पादन (जीडीपी)को ३०.०६ प्रतिशत रहेको थियो ।
६ महिनामा साढे ५१ अर्ब ऋण
नेपाल सरकारले बहुपक्षीय दाताहरुबाट बढी ऋण लिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालले ५१ अर्ब ५८ करोड रुपैयाँ ऋण लिएको छ ।
त्यसमध्ये बहुपक्षीय दाता (बैंक तथा सहयोग नियोग)को ऋण सबैभन्दा धेरै छ । तथ्यांक अनुसार ६ महिनाको अवधिमा बहुपक्षीय दाताबाट ३५ अर्ब २७ करोड ५० लाख ऋण लियो भने द्धिपक्षीय दाता (देशहरु)बाट १६ अर्ब ५ करोड रुपैयाँ ऋण लिएको छ । आन्तरिक रुपमा भने २६ करोड ५ लाख रुपैयाँ ऋण थपिएको छ ।
साढे २४ अर्ब ऋण फिर्ता
६ महिनाको अवधिमा सरकारले साढे २४ अर्ब ऋण फिर्ता समेत गरेको छ । तथ्यांक अनुसार ११ अर्ब ७८ करोड रुपैयाँ बाहृय र १२ अर्ब ७७ करोड रुपैयाँ आन्तरिक ऋण फिर्ता भएको छ ।
यो साँवा र ब्याजसमेत गरी हो । यसबीचमा १२ अर्ब ११ करोड रुपैयाँ साँवा भुक्तानी र १२ अर्ब ४३ करोड ब्याज भुक्तानीमा खर्च भएको छ ।