जीडीपीको गणना विधी परिमार्जन गर्नु पर्छ ː अर्थमन्त्री |
काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले कुल गार्हस्थ उत्पादन (जीडीपी)को गणना विधी परवर्तन गर्ने अवस्था आएको बताएका छन् ।शुक्रबार राष्ट्रिय वाणिज्य बैंकको ५५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले गणना कर्जा र जीडीपीको रेसियो नमिल्नुमा गणना विधीको समस्या रहेको हुनसक्ने भन्दै विधी फेर्नुपर्ने समय आएको बताएका हुन् ।
‘कर्जा र जीडीपीको अनुपात ८० प्रतिशत नाघ्न थाल्यो यात त कर्जा धेरै छिटो बढीरहेको छ या त जिडिपी अली सोचेजस्तो वृद्धि भएको छैन्,’ उनले भने ।
नेपालको कुल गार्हस्थ उत्पादन र कर्जाको अनुपातको अवस्थालाई लिएर अन्तर्रा्ष्ट्रिय मुद्रा कोषले समेत चासो देखाइरहेको उनले बताए ।
बैंकहरुले कर्जा बढाउँदै गए राष्ट्र बैंकले क्रेडिट सिलिङ लगाउनुपर्ने अवस्था आउने उनको भनाइ छ ।
उनले बैंक तथा वित्तीय संस्थालाई उत्पादन मूलक क्षेत्रमा कर्जा विस्तार गर्न समेत आग्रह गरेका छन्। खतिवडाले बैंकहरुले कर्जाको आयतन बनाउने भन्दा जीडीपीलाई सघाउने गरि कर्जाको गुणस्तर बढाउन भनेका हुन् ।
उनले राष्ट्रिय वाणिज्य बैंकलाई ब्याजदरमा ध्यान दिन पनि आग्रह गरेका छन् । निक्षेपमा कम ब्याजदर दिएकोले बचतकर्ता निरास हुन सक्ने र बचत बाहिरिन सक्ने हुनाले त्यसलाई ध्यान दिन भनेका हुन् ।
दिर्घकालिन रुपमा ठूला लगानीमा प्रवाह हुने कर्जामा स्थिर ब्याजदर कायम गर्ने विषयमा राष्ट्रिय वाणिज्य बैंकले नेतृत्व लिन सक्ने समेत उनले बताए ।
बैंकहरु सुरक्षित हुने र व्यवसाय धरापमा पर्ने गरी ब्याजदर उतारचढाव हुँदा बैंक कहिल्यैपनि सुरक्षित हुन नसक्ने उनको भनाइ छ ।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले साना तथा मझौला कर्जा र सहुलियत ब्याजदरको कर्जाको कार्यान्वयनमा जोड दिएको बताए ।
उनले गत वर्ष ५ अर्ब ४ करोड रुपैयाँ नाफा गरेको र यस वर्ष लामो समयपछि १२ प्रतिशत लाभांश दिन सफल भएको दाबी गरे ।
प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले १ खर्ब ९७ अर्ब कुल निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब कर्जा लगानी गरेको तथा २ अर्ब ५ करोड रुपैयाँ खुद मुनाफा कमाएको जानकारी समेत दिए ।
बैंकको कुल सम्पत्ती २ खर्ब ५० अर्ब तथा कर्जा पूँजी निक्षेप अनुपात ७७ प्रतिशत रहेको उनले जानकारी दिए ।