हिमालय एयरलाइन्सद्वारा चीनको चोङ्छिङमा उडान शुरू |
काठमाडौं । हिमालय एयरलाइन्सले चीनको चोङ्छिङमा साताको तीन उडान गर्ने गरी बिहीवारदेखि नियमित उडान शुरू गरेको छ । हिमालयले चोङ्छिङमा सोमवार, बिहीवार र शनिवार उडान गर्ने छ । चीनमा हिमालयको यो पाँचौं गन्तव्य हो । हिमालयले अहिले चीनको पेचिङ, कुइयाङ, शन्चेन र चाङसामा उडान गरिरहेको छ ।
काठमाडौं–चोङ्छिङ उडानको बिहीवार उद्घाटन गर्दै पर्यटन मन्त्री योगेश भट्टराईले नेपाल र चीनको द्विपक्षीय सम्बन्ध विस्तारका लागि कनेक्टिभिटी महत्त्वपूर्ण रहेको बताउँदै चोङ्छिङको उडानले भ्रमण वर्ष २०२० लाई थप सहयोग पुग्ने बताए । पछिल्लो समय चीनबाट धेरै पर्यटक नेपाल आइरहेको बताउँदै उनले यसबाट नेपाल र चीनबीचको पर्यटन क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।
नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले यो उडानले दुई देशको पर्यटन र व्यापार अभिवृद्धिमा सहयोग पुग्ने बताइन् । उनले यो उडानबाट भ्रमण वर्ष २०२० मा धेरै पर्यटक नेपाल ल्याउन थप सहयोग पुग्ने बताइन् ।
हिमालय एयरलाइन्सका अध्यक्ष चाउ अन्योङले पर्यटनका लागि हवाई कनेक्टिभिटी महत्त्वपूर्ण भएको उल्लेख गर्दै यसबाट नेपालमा चिनियाँ पर्यटकको संख्या बढ्ने बताए । उनले चिनियाँ नयाँ वर्षको सुखद अवसर पारेर काठमाडौं–चोङ्छिङ सीधा उडान शुरू गर्न पाउनु चिनियाँ पर्यटकका लागि नयाँ वर्षको उपहारजस्तै भएको बताए ।
हिमालय एयरलाइन्सका प्रशासन उपाध्यक्ष विजय श्रेष्ठले एयरलाइन्सले क्रमशः गन्तव्य विस्तार गर्ने योजनाअनुरूप काठमाडौं–चोङ्छिङ उडान शुरू गरिएको बताए । हिमालयले प्रयोग गरिरहेका हवाई रूटका अतिरिक्त अब थपिएको रूटबाट मात्र वार्षिक थप ५० हजार पर्यटक नेपाल भित्रिने र यसबाट नेपाल भ्रमण बर्ष २०२० को लक्ष्य प्राप्त गर्न महत्त्वपूर्ण टेवा पुग्ने श्रेष्ठले बताए ।
काठमाडौं—चोङ्छिङ सीधा उडानअन्तर्गत हिमालयको विमान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बिहान ९ः४० बजे प्रस्थान गरी स्थानीय समयअनुसार १५ः२६ बजे चोङ्छिङ चियाङ्पेइ अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । सो विमान बिहीवार नै चोङ्छिङबाट स्थानीय समयअनुसार अपरा≈न ५ बजे काठमाडौंका लागि उडेर नेपाली समयअनुसार साँझ सवा ७ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो ।
हाल ८ बिजनेश क्लास र १५० इकोनोमी क्लास सीट भएका ए ३२०–२१४ सिरिजका ३ ओटा न्यारो–बडी एयरक्राफ्टमार्फत सेवा उपलब्ध गराउँदै आएको हिमालयले निकट भविष्यमा नै ल्हासाजस्ता उच्च स्थानमा उडान गर्न तीनओटा ए–३१९ जहाज किन्ने योजना पनि बनाएको उनले जानकारी दिए ।
नेपाल–चीन संयुक्त उद्यमका रूपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एयरलाइन्स अन्तरराष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी वायुसेवा कम्पनी हो ।