बुद्द एयरले माघ १८ गतेदेखि राजविराजमा उडान भर्ने |
काठमाडौं । बुद्द एयरले राजविराजमा उडान भर्न लागेको छ । आगामी माघ १८ गतेदेखि दैनिक उडान हुने बुद्द एयरले जनाएको छ । उडानको समय काठमाडौंबाट ११ː२५ र राजविराजबाट १२ː२० राखिएको छ । उडान अवधि झण्डै ३५ मिनेटको हुनेछ ।
यो उडानले सप्तरी, उदयपुर, सिरहा तथा सुनसरीका यात्रुहरुलाई सुविधा पुग्ने बुद्द एयरको विश्वास छ ।
दैनिक उडानले पर्यटन पर्वद्धनका साथै भिजिट नेपाल २०२० लाई पनि टेवा पुग्ने बुद्द एयरको विश्वास छ । पर्यटकको आउजाउसँगै स्थानीय स्तरमा रोजगारीको साथै आर्थिक वृद्धि हुने बताइएको छ ।
राजविराज धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण शहर हो । यहाँबाट छिन्नमस्ता, बराहक्षेत्र, कोशीटप्पु, सलहेश गहवरका साथै अन्य थुप्रै पर्यटकीय गन्तव्यसम्म सजिलै पुग्न सकिन्छ ।
राजविराज उडानले सिमापारीका सहरसा, सुपौल, निर्मली, वीरपुर, राघोपुर, पिपरा, मधेपुरा, प्रतापगञ्ज, झन्झारपुर, सकरी, घोघडीया, लौकहालाई पनि सजिलैसँग जोड्न सकिन्छ । यसबाट दुवै देशका पर्यटकहरुलाई फाईदा पुग्नेछ ।