भारतले पेट्रोलियम तालिम केन्द्र बनाइदिने |
काठमाडौं । भारतीय आयल कर्पोरेशन (आइओसी)ले नेपालका लागि पेट्रोलियम तालिम केन्द्र बनाइदिने भएको छ । पुस २८ गते नयाँ दिल्लीमा बसेको नेपाल–भारत पेट्रोलियम तथा प्राकृतिक ग्याससम्बन्धी सहसचिवस्तरीय संयन्त्रको पहिलो बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतलाई पेट्रोलियम तालिम केन्द्र बनाइदिन प्रस्ताव राखेको थियो ।
त्यतिबेला भारतीय पक्षले तालिम केन्द्र बनाइदिने जवाफ दिएको उद्योग मन्त्रालयका सहसचिव ध्रुव घिमिरेले बताए ।
उनका अनुसार तालिम केन्द्र बनाइदिन भारतीय पक्ष सकारात्मक देखिएको छ । ‘भारतीय पक्षले सक्दो चाँडो ठाउँ तोकेर पठाउनु भनेको छ । छिट्टै आयल निगमसँग छलफल गरेर पठाउँछौं, ’ उनले भने ।
हाल निगमका कर्मचारी तथा इन्धनसँग सम्बन्धित व्यवसायीहरू तालिम लिन भारतलगायत अन्य देशमा जाने गरेका छन् ।
नेपालमै तालिम केन्द्र बन्यो भने खर्च तथा समयको बचत हुने छ ।