धर्म परिवर्तन गराउँदै हिँड्ने कर्मचारी स्थानीय युवाद्वारा पक्राउ |
विराटनगर । अन्य धर्म मान्दै आएका व्यक्तिहरुलाई क्रिश्चियन बनौं भनेर धर्म परिवर्तन गराउँदै हिँडेका विराटनगर–१५ का दीपु कर्मचारीलाई विराटनगर–१२ का स्थानीय युवाले पक्राउ गरी प्रहरीलाई बुझाएका छन् । विराटनगर–१५, बस्ने ५० वर्षीय कर्मचारीलाई स्थानीय युवाहरूले समातेर प्रहरीको जिम्मा लगाएका हुन् ।
कर्मचारीले इशाई धर्म लिँदा यो हुन्छ त्यो हुन्छ भन्दै प्रलोभन देखाएर धर्म परिवर्तन गराउँदै हिडेको स्थानीय युवाहरूको आरोप छ । स्थानीय खुश्बु कामतको घरमा आएर आफ्नो धर्म लिएर चर्च गए दुःख हरण हुने भन्दै आफ्नो धर्ममा आबद्ध हुन प्रलोभन देखाइरहेको अवस्थामा स्थानीय युवा अमितकुमार देवको अगुवाइमा उनलाई पक्राउ गरिएको थियो । स्थानीय खुश्बु कामतले उनी आफ्नो घर आएर पहिले पानी खान मागेको र उनका धर्मका प्रचारहरु देखाउँदै यस्तो धर्ममा लाग्दा सबैको भलाइ हुने भन्दै उनलाई यही धर्म अपनाउन करकाप लगाएको बताउँछिन् ।
यता कर्मचारीले भने आफूले उनीहरुलाई कुनै करकाप नलगाएको बताएका छन् । उनले आफू यहाँ बारम्बार आए पनि कसैलाई प्रलोभनमा नपारेको जिकिर गर्छन् । उनले भने, ‘मैले उनलाई किताबमा यो यो छ भनेर खुलाउन मात्रै चाहेको हुुँ । म सर्वत्र खुशी देख्न चाहेकाले यस धर्मको प्रचार गरेको हुँ ।’ उनका अनुसार उनी विगत ६्७ वर्षदेखि इशाई धर्ममा आवद्ध छन् । उनी अहिले यस धर्मका लागि स्वयंसेवकको रूपमा खटिएका छन् ।
नेपाल धर्म निरपेक्ष देश भए पनि कानूनअनुसार कसैलाई पनि करकाप र प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने कार्यलाई गैरकानूनी मानिन्छ । हाल नेपालमा बढ्दै गएको धर्म परिवर्तनलाई अपराध मानिने र कडा सजायको भागिदारसमेत हुनुपर्नेछ । सरकारले धर्मपरिवर्तनलाई फौजदारी अपराधअन्तर्गत मुद्दा दर्ता गरी कारबाही अगाडि बढाउने गरेको छ ।