बैदेशिक रोजगारमा जानेको संख्या बढ्दा रेमिट्यान्स पनि बढ्यो |
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्यासंगै विप्रेषण आप्रवाहमा पनि सुधार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिना (कार्तिक) सम्मको तथ्यांकले वैदेशिक रोजगारीमा जानेको संख्यासंगै विप्रेषण आप्रवाहमा पनि सुधार भएको देखाएको हो ।
वैदेशिक रोजगारीमा जानेको संख्या ११.८ प्रतिशतले बढ्दा विप्रेषण आप्रवाहमा ०.१ प्रतिशतको सुधार भएर ३ खर्ब ७६ अर्ब ९९ करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको यहि अवधिमा विप्रेशण आप्रवाह ३१.९ प्रतिशतले बढेको थियो ।
चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १९.२ प्रतिशतले बढेको थियो ।
समिक्षा अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या मंसिरमा ११.८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३८.४ प्रतिशतले घटेको थियो ।
पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ७.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.४ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर प्राप्ति ०.४ प्रतिशतले कमी आई ४ खर्ब २५ अर्ब ३६ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति २.८ प्रतिशतले बढेको थियो ।