काठमाडौंका सडकमा ‘ट्राफिक बत्ती’, आठ चोकमा सञ्चालन, पाँचमा थपिँदै |
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न आठ चोकमा ‘ट्राफिक बत्ती’ सञ्चालनमा आएको छ । लामो समयदेखि बन्द रहेका उपत्यकाका आठ चोकमा महानगरीय ट्राफिक प्रहरी महाशाखा र सडक विभागको समन्वयमा ‘ट्राफिक बत्ती’ सञ्चालनमा ल्याइएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले पुतलीसडक, पद्मोदय मोड, सिंहदरबार, पुरानो बानेश्वर, नयाँ बानेश्वर, तीनकुने, गौशाला र ललितपुरको महापालमा ट्राफिक लाइट पुनः सञ्चालनमा ल्याइएको बताए ।
’अबको केही दिनमै मित्रपार्क, कालीमाटी, टंकेश्वर, परोपकार र पुल्चोकमा ट्राफिक बत्ती सञ्चालनमा ल्याउँछौं,’ उनले भने । प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी महानिरीक्षकले ट्राफिक व्यवस्थापनमा चासो दिएसँगै १३ वर्षपछि उपत्यकाको चोकमा ट्राफिक बत्ती जडान गरिएको महाशाखाले जनाएको छ । उपत्यकाको ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणमा ट्राफिक बत्ती जडानले सहयोग पुग्ने महाशाखा प्रमुख ढकालको भनाइ छ ।
नेपालमा पहिलोपटक विसं २०२३ मा सिंहदरबार र राजदरबारको दक्षिणी ढोका, सुनधारा र नयाँ सडकमा ट्राफिक बत्ती जडान गरिएको थियो । त्यसपछि जापान सरकारको सहयोगमा विसं २०५८ मा ट्राफिक बत्ती जडान गरिए पनि पछिल्लो समय बिग्रिएको थियो ।