माघपछि बजारमा पैसाको अभाव हुदैन ː अर्थमन्त्री |
विराटनगर । अर्थमन्त्री डा. युवराज खतिवडाले माघ महीनाभित्र सरकारमा जम्मा भएको रकम बजारमा आउने बताएका छन् । शुक्रवार प्रदेश नं. १ का दुई ठूला व्यापारिक संस्था मोरङ व्यापार संघ र उद्योग संगठन मोरङमा आबद्ध उद्यमीरव्यावसायीसँगको छलफलमा पूर्वका उद्योगी व्यवसायीले बजारमा पैसा अभाव भएको गुनासो गरेपछि मन्त्री खतिवडाको यस्तो भनाइ आएको हो ।
पूर्वसभासद तथा मोरङ व्यापार संघका पूर्वअध्यक्ष पवन शारडासहित अन्य उद्योगी व्यवसायीले बजारमा पैसाको अभाव भएको गुनासो गरेका थिए । ‘उद्योगबाट सामान बजार पठायो पैसा उठ्दैन, व्यवसायीलाई सोध्यो सामान ठेकेदारले लग्यो भुक्तानी दिँदैन भन्छन्, ठेकेदारचाहिँ लगानी भयो सरकारले पैसा दिँदैन भन्छन् । मन्त्रीज्यू पैसा कहाँ गयो, खोजिदिनुपर्योज,’ शारडाको भनाइ थियो ।
उद्योगी व्यवसायीको गुनासो ध्यानपूर्वक सुनेका अर्थमन्त्रीले सरकारको ढुकुटीमा केही पैसा जम्मा भएको र त्यो माघ फागुनमै बजारमा आउने बताए । उनले उद्योगी, व्यवसायीले भनेजस्तो बजारमा पैसा गायब नभएको दलील गरे । ‘जसरी बजारमा पैसा नै छैन भन्ने कुरा छ त्यसमा सत्यता नभएको’ जिकीर गर्दै अर्थमन्त्रीले सरकारी ढुकुटीमा भएको पैसा पनि पुस मसान्तपछि बजारमा आउने प्रक्रियामा रहेको बताए ।
खतिवडाले केही सूचकका आधारमा मुलुकको अर्थतन्त्र सन्तोषजनक रहेको दाबी गरे । ‘विगतमा गुनासोका थुप्रै चाङ थिए, बिजुलीको समस्या थियो, इन्धनको समस्या थियो, बैंक ब्याजदरकै समस्या थियो, तर ती सबै विस्तारै समाधान भएका छन्,’ उनले बताए । समस्याका नयाँ आयाम देखिएको उल्लेख गर्दै खतिवडाले सरकार बजारलाई विचलन गर्ने खालका अस्थायी व्यवसायलाई पक्षपोषण गर्ने पक्षमा नरहेको स्पष्ट पारे ।
‘मलाई राम्ररी थाहा छ अहिले मरीचमा के हुँदै छ, मटरमा के हुँदै छ’ मन्त्री खतिवडाले भने, ‘व्यापार राम्रो हुन्छ भन्दैमा सरकार बजारलाई विचलन पैदा गर्ने खालको व्यवसाय गर्न छूट दिने पक्षमा छैन ।’ तेस्रो मुलुकबाट मरीच, मटर आयात गरी भारत निर्यात गर्ने प्रवृत्तिप्रति मन्त्री खतिवडाको भनाइ लक्षित थियो । उनले विगतमा सुपारीमा पनि यस्तै प्रवृत्ति देखिएकाले यसलाई ठप्पै पारिएको बताए । उनले भने ‘सरकार दीर्घकालीन बजार नीतिको पक्षमा छ ।’
मन्त्री खतिवडाले बैंकले आफूखुशी ब्याज बढाएर समस्यामा पारेको उद्योगी व्यावसायीको गुनासो धेरै हदसम्म समाधान भएको बताए । ‘अहिले बैंकले आफूखुशी ब्याज बढाए भन्ने गुनासो छैन होला, सेवा शुल्क बढाएका छन् यसलाई पनि व्यवस्थित गर्छौं,’ उनले भने ।
अब बैंकहरूलाई दुई प्रकारले ब्याजदर तय गर्न आग्रह गरिने उल्लेख गर्दै मन्त्री खतिवडाले एउटा घट्ने पनि बढ्ने पनि ‘फ्लोटिङ रेट’ अर्को न्यूनतम वर्ष तोकेर लिने ‘फिक्स्ड रेट’, कुन रोज्ने ग्राहकलाई नै ‘च्वाइस’ छोडिदिने स्पष्ट पारे ।
छलफल कार्यक्रममा उद्योगी व्यवसायीका तर्फबाट समस्या राख्दै आयोजक मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले व्यवसायी निकै निराश अवस्थामा रहेको बताए । जोगवनीनजीक रहेको एउटा सानो मीरगञ्ज पुल नबन्दा नेपाली उद्योगीरव्यवसायीले समस्या झेल्नुपरेको उल्लेख गर्दै मुन्दडाले विदेशी लगानीको सम्बन्धमा सरकारको लचिलो नीतिका कारण स्वदेशी उद्योग समस्यामा परेको गुनासो गरे ।