काठमाडौं । जनकपुर–जयनगर रुटमा चल्ने रेल माघको तेस्रो साताभित्रै नेपाल आइपुग्ने भएको छ । नेपालमा सञ्चालन गर्न २ वटा रेल अहिले भारतको मद्रासमा निर्माणाधिन छन् ।
रेल विभागले ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोकन रेल्वे कर्पोरेसनसँग रेल किन्ने सम्झौता गरेको थियो । पाँच वटा डिब्बासहितका यी रेलमा एकैपटक १२ सय यात्रुले यात्रा गर्न सक्छन् ।
यसअघि नेपालमा कोइलाबाट चल्ने रेल चल्थ्यो । अब भने डिजेल इलेक्ट्रिफाइड मल्टिपल युनिट प्रविधिको रेल चलाउन लागिएको हो । यो रेल डिजेलबाट निस्किने बिजुलीबाट चल्छ ।
विभागका महानिर्देशक बलराम मिश्रले माघको तेस्रो साताभित्र रेल नेपाल आइपुग्ने अनुमान गरिएको बताए । रेल नेपाल ल्याएको एक महिनापछि सञ्चालनमा ल्याउन सकिने मिश्रको दाबी छ ।
लिक मर्मत गरिदै
हालको तयारी अनुसार जनकपुर–जयनगर रेल पुन सञ्चालनमा ल्याउन अझै दुई महिनाभन्दा बढी समय लाग्नेछ । गत वर्षको पुसबाट नै रेल चलाउने घोषणा गरेको सरकारले फागुनसम्म पनि चलाउने निश्चित छैन ।
अहिले जनकपुर–जयनगर रेलमार्गको लिक पनि पूर्ण रुपमा चुस्त अवस्थामा छैन । बितेको वर्ष कमला नदीको बाँध फुटेर रेलमार्गमा ठूलो क्षति पुगेको थियो । रेलमार्ग मर्मतका लागि भारतीय पक्षले काम गरिरहेको छ ।
कुर्ता–जनकपुर–जयनगर रेलमार्गको पुरानो न्यारो गेजलाई हटाएर ब्रोड गेजका रुपमा विस्तार गरिएको छ । भारतीय निर्माण कम्पनीमार्फत नै यो काम भएको हो । सन् २०१४ बाट यसको सुरुवात भएको थियो । यसै कारण जनकपुर–जयनगर रेल सेवा विगत ५ वर्षदेखि बन्द अवस्थामा छ ।
ब्रोड गेज विस्तारको लागि सिभिलतर्फका सबै काम गत वर्ष नै सकिएको थियो । स्टेसनहरु बनेका छन् । ३५ किलोमिटरको रेलमार्गमा सानो आकारको रेलको लिक हटाएर ठूलो आकारको बनाइएको छ ।
भारतीय कम्पनीले नयाँ कार्यालय भवन, भन्सार कार्यालय, कर्मचारीको आवास गृहहरु पनि बनाएको छ ।
सञ्चालनका लागि रेल्वे कम्पनीलाई जिम्मा
सरकारले रेल सेवा सञ्चालनका लागि सरकारी स्वामित्वको नेपाल रेल्वे कम्पनीलाई जिम्मा दिन लागेको छ । हाल निष्क्रिय रहेको रेल्वे कम्पनीलाई जनशक्ति थपेर ब्यूँताउने सरकारको तयारी हो । यसका लागि करिब २ सय कर्मचारीको दरबन्दी थप गरिँदैछ ।
यसअघि पनि जनकपुर–जयनगर रेल नेपाल रेल्वे कम्पनीले नै चलाउँथ्यो । नेपालमा सन् १९७२ मा नेपाल रेल्वे कम्पनी स्थापना भएको थियो । सन् २०१४ देखि यो कम्पनी सक्रिय छैन ।
रेलमार्गको मर्मत र कम्पनीमा कर्मचारीको दरबन्दी स्वीकृत भएर भर्ना प्रक्रिया टुंग्याएपछि रेल ल्याएर चलाउन थालिने विभागले बताएको छ । नेपालीसँग रेल चलाउने खासै अनुभव नभएकाले प्राविधिक जनशक्ति भारतबाट ल्याउनुपर्ने भएको हो । विभागले अप्राविधिक कर्मचारी नेपालमै भर्ती गर्नेछ ।
कम्पनीको कर्मचारी विनियमावली पनि बनिसकेको छ । हाल करिब १५ जना मात्रै कर्मचारी रहेको कम्पनीमा अहिले रेल्वे इन्जिनियरसहित मेकानिकल इन्जिनियर, रेल चलाउने ड्राइभर, स्टेशन म्यानेजर, टिकट काट्ने, र जाँच्ने लगायतको कर्मचारीको दरबन्दी सिर्जना गर्न लागिएको छ ।
‘केही समय भारतबाट आउने जनशक्तिले हाम्रा जनशक्तिलाई प्रशिक्षित गर्छन्,’ विभागका महानिर्देशक मिश्रा भन्छन्, ‘पछि हाम्रो मात्रै प्राविधिकहरु राखेर रेल चलाउन सक्छौं ।’
ब्रोडगेज रेल चलाउन नेपालमा अनुभवी जनशक्ति नभएकाले केही वर्षका लागि भारतीय कामदार तयारी गर्नै पर्ने तर्क अधिकारीहरुको छ ।
अहिले जनकपुरसम्म चल्ने रेल महोत्तरीको विजलपुरासम्म चलाउने योजना रेल्वे विभागको योजना छ । जयनगरबाट आउने रेललाई ४ वर्ष्भित्र बर्दिवासमा पूर्व–पश्चिम रेलमार्गसँग जोडेर निजगढसम्म ल्याउने घोषणा सरकारले गरेको छ ।
रेल्वेको इतिहास
वि.सं १९९४ मा तत्कालीन बेलायती शासकले महोत्तरीको जङ्गलबाट काठ ओसार्न निर्माण गरेको जनकपुर रेल्वे महोत्तरीको बिजुलपुराबाट भारतको जयनगर ५२ किमीसम्म सञ्चालनमा थियो । वि.सं २०५९ मा आएको बाढीबाट बिग्ही पुल क्षतिग्रस्त भएपछि रेल सेवा जनकपुरदेखि जयनगर २९ किमीमा मात्र सीमित भयो । जनकपुर–जयनगरका लागि दैनिक तीन सेवा सञ्चालन गर्दै आएको रेल्वे अन्तिम समयमा आएर एउटा सेवामा सीमित भए पनि नियमित थिएन ।
शुरुमा इन्धनका रूपमा कोइला तथा दाउरा प्रयोग गरी चल्ने रेलले २०१८ सालदेखि यात्री ओसारपसार गर्न थालेको थियो । वि.सं २०५१ मा भारत सरकारको सहयोगमा १८ डिब्बासहित चार डिजेल पावर इञ्जिन प्राप्त भएपछि आधुनिक रेल सेवा सञ्चालन भएको थियो ।
रेल्वेलाई व्यवस्थित गर्ने उद्देश्यले २०२१ सालमा यसलाई नेपाल यातायात संस्थानअन्तर्गत राखियो । पछि २०२५ सालमा सरकारले यसको नाम जनकपुर–जयनगर रेल्वे राख्यो । रेल्वेको पहिलो प्रबन्धकका रूपमा टेकजङ्ग थापा नियुक्त भएका थिए। वि.सं २०६१ मा रेल्वे सेवालाई नेपाल रेल कम्पनीका रूपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरिएपछि नेपाल रेल्वेका रूपमा चिनिएको छ ।
संसारमै कतै नभएका इञ्जिन नेपालसँग हुनु गौरवको विषय रहेको खजुरी निवासी विज्ञान विषयका शिक्षक उपेन्द्र ठाकुर बताउँछन् । उनी भन्छन्, ‘वैदेही नगरपालिकाको खजुरी स्टेशनमा म्युजियम निर्माण गरेर कोइला इञ्जिन संरक्षण गरिएमा पर्यटक भित्र्याउन सकिन्छ ।’ सरकारलाई न्यारोगेज कोइला इञ्जिन उपलब्ध गराउने बेलायतस्थित कम्पनीका मालिकका नातेदारले २०३९ सालमा जनकपुर आएर ती इञ्जिन आफूलाई दिन आग्रह गरेको स्थानीयवासी बताउँछन् । त्यतिबेला एउटा इञ्जिनको साटो तीन डिजेल इञ्जिन उपलब्ध गराउने प्रस्तावसमेत गरिएको थियो ।
त्यसबेला तत्कालीन सरकारले आफैंँ सङ्ग्रहालय बनाउने बताउँदै बेलायती कम्पनीको प्रस्ताव अस्वीकार गरेको थियो । पछि राजनीतिक परिवर्तनका कारण सङ्ग्रहालय निर्माणसम्बन्धी काम अघि बढ्न सकेन ।
जनकपुर रेल्वे व्यवस्थापनले २०६० भदौमा जनकपुर रेल्वे वर्तमान अवस्था र सुधार हुनुपर्ने कुरा समेटेर सरकारलाई प्रतिवेदन बुझाएको थियो जसमा ७५ प्रतिशत रेल्वे ‘स्लिपर’ जीर्ण भइसकेको, सिग्नल र टेलिकम्युनिकेशनको व्यवस्था नभएकाले सूचना आदानप्रदान गर्न कठिनाइ हुने गरेको, इञ्जिन र यात्रुवाहक कोचको मर्मत गर्नुपर्ने लगायत विषयप्रति ध्यानाकर्षण गराइएको थियो । समयमै मर्मतसम्भार नगरिए यात्रु तथा मालसामान ढुवानी निषेध गर्नुपर्ने राय पनि प्रतिवेदनमा थियो ।
पूर्वी तथा मध्य धनुषासँगै सीमावर्ती भारतीयका लागि ८१ वर्षदेखि यातायातको प्रमुख मार्गका रूपमा रहेको जनकपुर–जयनगर रेल गत पाँच वर्षदेखि भने बन्द छ ।
संरक्षणका लागि नेपाल रेल कम्पनीका निमित्त प्रमुख तुलाबहादुर डाँगीसहित खटाइएका १७ कर्मचारीमध्ये कार्यालयमा एक जना पनि भेटिँदैनन् । घरमै बसेर तलब खाइरहेका रेल्वेका कर्मचारीको लापरवाहीका कारण करोडौंँको सम्पत्ति क्षतिग्रस्त हुँदैछ ।
पर्यटकीय तथा धार्मिक नगरी जनकपुरधाम वा आसपासका क्षेत्रमा संसारमा कतै नभएको रेल इञ्जिनको सङ्ग्रहालय निर्माण गरिए जनकपुरको पर्यटकीय विकासमा थप टेवा पुग्ने नेपाल पत्रकार महासङ्घ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले बताए ।
समाजशास्त्री नीलबहादुर लुम्रे नेपालको रेलको इतिहासका विषयमा भावी पुस्ता र मिथिलामा आउने पर्यटकलाई जानकारी दिन पनि संरक्षण गर्नुपर्ने बताउँछन् । यसलाई प्रदेश सरकारले सङ्ग्रहालय बनाएर राख्नुपर्ने उनको सुझाव छ ।