मिश्रित अर्थव्यवस्था र लैंगिकमैत्री लगानी विषयक गोष्ठी राजधानीमा शुरु |

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको विकास र समृद्धिका लागि साना तथा लघु, घरेलु उद्योग क्षेत्रमा पनि समावेशी लगानी आवश्यक रहेको बताए ।
समृद्धि फाउण्डेशन र मेनोनाइट आर्थिक विकास एसोसिएट्स(मेडा) द्वारा सोमबार राजधानीमा आयोजना गरेको ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि विकासका माध्यमः मिश्रित अर्थव्यवस्था र लैंगिकमैत्री लगानी’ विषयक कार्यशाला गोष्ठीको उद्घाटन गर्दै अर्थतन्त्रमा ठूलो योगदान पुर्याउँदै आएका साना तथा घरेलु उद्योगहरुको प्रवद्र्घनका लागि यस्ता उद्योगहरुको उत्पादन लागत घटाउन प्रविधि सहयोग आवश्यक रहेको उनले बताए ।
मुलुकमा सञ्चालित साना तथा मझौला उद्योगहरुले उत्पादक र उद्यमी नागरिक निर्माणका लागि पूर्वाधार विकासमा सघाउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले बेरोजगारी समस्या समाधान र कृषिजन्य उत्पादनको उचित उपयोग गर्ने माध्यम भनेकै साना उद्योग भएको बताए ।
स्थानीय कच्चा पदार्थमा आधारित साना उद्योग नै मुलुकको अर्थतन्त्रको मेरूदण्ड भएको भन्दै यस्ता उद्योगहरूको संरक्षण र प्रवद्र्घनमा सरकार प्राथमिकताका साथ लागिरहेको उनको भनाई थियो ।
साना, घरेलु तथा मझौला उद्योगहरुमा लगानी बढाउन बैंक तथा वित्तीय संस्थालाई सुझाव दिंदै उनले भने, ‘अहिले बैंकबाट ठूला उद्योगमा तथा सहकारीबाट साना व्यवसायमा लगानी भएको अवस्था छ, उद्योग क्षेत्रको समावेशी विकासका लागि यसमा सुधार गरी घरेलु तथा मझौला उद्योग व्यवसायमा सरल र सहजरूपमा कर्जा प्रवाह गर्न वित्तीय संस्थाले ध्यान पुर्याउनुपर्छ ।’
समावेशी आर्थिक विकासका लागि उत्पादनका साधनहरुमाथि सबैको पहँच समान हुनुपर्ने भन्दै उनले भूमी, पूँजी र प्रविधिको वितरणमा समान पहुँच नभए मुलुकमा आर्थिक विकास सम्भव नभएको र त्यसका लागि संघीयता कार्यान्यवनमा आएको बताए ।
संघीय संरचनाको माध्यमबाट समावेशी विकासको परिकल्पना गरिएकाले वित्तीय समावेसीकरणमा सरकारले ध्यान दिएको भन्दै उनले गाउँगाउँमा समतामुलक विकासका लागि स्थानीय तहले बजेट विनियोजन गर्ने र समान रुपले विकास हुने बताए । त्यसका लागि सरकारले उत्पादनका साधान र स्रोतको समान वितरणमा जोड दिएको उनले बताए ।
आर्थिक विकास समावेशी हुनका लागि आर्थिक वृद्धि समावेशी हुनुपर्ने र आर्थिक वृद्धि समावेशी बनाउनका लागि उत्पादनका साधनमाथि समावेशी पहुँचको सुनिश्चितता हुनुपर्नेमा अर्थमन्त्री डा. खतिवडाको जोड थियो ।
समावेशी विकासका लागि सबै वर्ग र समुदायको संलग्नतामा अर्थपूर्ण साझा प्रयास आवश्यक रहेकोमा जोड दिंदै उनले मुलुकको अर्थतन्त्रका मुख्य तीन खम्बा सरकार, निजी क्षेत्र र सहकारी क्षेत्रले समावेशी विकासका लागि एकाकार भएर काम गर्नुपर्ने आवश्यकता औंल्याए ।
सरोकारवालाबीच पर्याप्त छलफल नभई अघि बढाइएका विकासका आयोजनाप्रति नागरिकबाट प्रश्न उठ्ने सम्भावना रहने भन्दै उनले समावेशी विकासका माध्यमबाट मात्रै आर्थिक समृद्धि हासिल गर्नुपर्छ भनेर सरकारले त्यसैअनुरूपको नीति तर्जुमा गरेको बताए । त्यसका लागि उपलब्ध स्रोतसाधन साझा प्रयासमा परिचालन हुनुपर्ने उहाँको भनाई थियो ।
नेपालको सहकारीलगायत वित्तीय क्षेत्रमा महिलाको सहभागिता उत्साहजनक नै रहेको उल्लेख गर्दै उहाँले नयाँ प्रविधिको प्रयोगमार्फत आफ्ना उत्पादनलाई गुणस्तरीय बनाउनेतर्फ महिला उद्यमीले ध्यान पुर्याउनुपर्ने बताए ।
तत्कालै जनताको आवश्यता पूरा गर्ने उत्पादन बढाउँदै मूल्य पनि बढ्न नदिने र दीर्घकालीन विकास गर्नुपर्ने, लगानीबाट उच्च प्रतिफल लिन गुणस्तरमा सुधार गर्नुपर्ने तथा कामका अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याउँदै स्वरोजगारी र ज्यालाको रोजगारी सिर्जना गरेर क्रमशः वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था कम गर्दै लैजाने उनले बताए ।
उद्घाटन समारोहमा मेडा अन्तरगत विश्वव्यापी कार्यक्रमका वरिष्ठ निर्देशक काटिय टर्नरले मिश्रित अर्थव्यवस्था र लैंगिकमैत्री लगानीका सफलताका प्रमाणहरुको चर्चा गर्दै महिलाद्घारा सञ्चालित साना उद्योगहरुको प्रवद्र्घनमा जोड दिए ।
पछिल्लो समय साना उद्योग र व्यवसायमा बढ्दै गइरहेको महिलाहरुको संख्यालाई मध्यनजर गर्दै आवश्यक सम्बोधन गर्न सके दिगो विकास लक्ष्य प्राप्तिमा समेत सघाउ पुग्ने उनको भनाई थियो ।
समृद्धि फाउण्डेशनले विकासका अभ्यासकर्ता र वाणिज्य क्षेत्रका लगानीकर्ताको सहकार्यमा विकास र समृद्धिका लागि बाधकका रूपमा देखिएको लैङ्गिक असन्तुलनलाई न्यूनीकरण गर्दै अघि बढने प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको सो कार्यक्रम मङ्गलबारसम्म चल्नेछ ।