अष्ट्रेलियामा जनावरलाई हेलिकप्टरबाट खानेकुरा बाँडिदै |
काठमाडौं । अष्ट्रेलियामा आगलागीबाट जोगिएका जनावरलाई हेलिकप्टरबाट खानेकुरा बाँड्न थालिएको छ । न्यू साउथ वेल्सको प्रान्तीय सरकारले केही महिनादेखिको भीषण आगलागीमा जोगिएका रक वालावी प्रजातिका जनावरका लागि आलु र गाँजर हेलिकप्टरबाट खसालेको हो ।
झन्डै १ हजार किलोग्राम आलु र गाँजर खसालिसकिएको उर्जा र वातावरण मन्त्री म्याट किन जानकारी दिएका छन् ।
‘रक वालावीजस्ता खतरामा रहेका प्रजातिका जोगाउनका लागि हामीले यो रणनीति अपनाएका हौं,’ उनले सिएनएनसँग भनेका छन् ।
सरकारको प्रारम्भिक अनुगमनमा कंगारूजस्तो देखिने रक वालावीको ठूलो संख्या आगलागीमा मारिएको देखिएको छ ।
‘आगलागीले उनीहरूको बासस्थान र चरन क्षेत्र खरानी बनाइदिएकाले बाँचेकाहरूले खाना पाएका छैनन् । प्राकृतिक रूपमा उनीहरूको खाना तयार नभएसम्म हेलिकप्टरबाट खाना बाँड्ने काम जारी रहन्छ,’ उनले भने ।
अष्ट्रेलियामा जारी आगलागीमा परी ५० करोड पशुपंक्षी मारिएको प्रारम्भिक विवरणहरू आएका छन् ।