जथाभावी बाटो काटे ट्राफिकले २० मिनेट क्लास दिने, एक हजार जनाले लिए कक्षा |
काठमाडौं । अबदेखि पैदलयात्रुले पनि ट्राफिक नियम उल्लंघन गरे २० मिनेट क्लास लिनुपर्ने भएको छ । सोमबारदेखि पैदलयात्रुले जेब्राक्रस,आकाशेपुलको प्रयोग नगरी जथाभावी बाटो काटे ट्राफिक प्रहरीले सचेतना कक्षा लिने भएको हो ।
’पैदलयात्रुले बाटोमा हिँड्दा र बाटो काट्दा ट्राफिक नियम पालना नगरे समातेर २० मिनेटको कक्षा लिनुपर्ने व्यवस्था आजदेखि शुरू गरेका हौं,’ ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले भने ।
कक्षामा सडक सुरक्षा र ट्राफिक नियमबारे सिकाइनेछ । त्यस्तै, उनीहरूकै माध्यमबाट घरघरमा सचेतनाको लागि पर्चा पम्पलेट समेत वितरण गर्ने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
यो अभियान हाललाई भोटाहिटी र वीर अस्पताल अगाडीबाट सुरू गरिएको र पछि अन्य स्थानमा पनि विस्तार गरिने महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठ जानकारी दिए ।
कारबाहीमा परेका पैदलयात्रु कक्षा नलिइ जान पाउने छैनन्। साथै पहिलो दिन नै एक हजार जनालाई सचेतना कक्षा सञ्चालन गरिसकेको प्रवक्ता श्रेष्ठले बताए ।
यस आर्थिक वर्षमात्रै उपत्यकामा ७६ मध्ये ३२ जना पैदलयात्रुको सवारी दुर्घटनामा ज्यान गएको छ ।
गतवर्ष भने २५४ मध्ये ९३ जना पैदलयात्रुले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए ।