सरकारलाई लगानीको वातरवारण बनाउन परिसंघको आग्रह | अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न तयार
काठमाडौं । अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार र निजी क्षेत्र बीच विश्वासको वातावरण बनाउन सरकारका सचिवहरु र परिसंघले थप सहकार्य गर्ने भएको छ । नेपाल सरकारका सचिवहरु र उद्योगी व्यवसायीहरुले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार र उद्योगी व्यवसायीहरु बीच विश्वासको वातावरण बनाउन थप सहकार्य हुनु पर्नेमा जोड दिएका हुन ।
नेपाल उद्योग परिसंघले आयोजना गरेको देशको समग्र आर्थिक स्थिति र उद्योग व्यवसायमा तत्काल सम्बोधन हुनुपर्ने विषयमा नेपाल सरकारका सचिवहरुसँगको अन्तक्र्रियामा अर्थतन्त्रमा देखिएका समस्या समाधानमा आपसी विश्वासका साथ सहकार्य बढाउँदै जाने प्रतिवद्धता व्यक्त गरेको छ ।
प्रारम्भमा नेपाल सरकारका सचिवहरु तथा वरिष्ठ सहसचिवहरुलाई स्वागत गर्दैै परिसंघका अध्यक्ष सतिशकुमार मोरले सरकारको नीति कार्यान्वयन तह र उद्योगी व्यवसायी बीच विश्वासको वातावरण बनाउन अन्तक्र्रिया आयोजना गरिएको बताए । निर्यात व्यापारमा देखिएका समस्या वा आन्तरिक बजारमा माग संकुचनले अर्थतन्त्रमा पार्न सक्ने नकारात्मक असरलाई समयमै पहिचान गरि समाधानका उपाय अघि सार्न सरकार र निजी क्षेत्र मिलेर काम गर्नु पर्ने अवस्था आएको अध्यक्ष मोरले बताएका थिए ।
अध्यक्ष मोरले निर्यात व्यापारमा देखिएको उत्साहलाई कायम राख्दै निर्यात वृद्धि सँगसँगै आयात प्रतिस्थापन गर्ने उद्योगहरुलाई थप लगानीका लागि उत्पे्ररित गर्न आवश्यक वातावरण बनाउन आग्रह गरे । अध्यक्ष मोरले उद्योग विभागमा रहेको एकल बिन्दु सेवा केन्द्रको प्रभावकारिता बढाउन र निर्यातमा विविधिकरण र उद्योग सम्बन्धी कानुनको सुधारमा मन्त्रालयले देखाएको अग्रसरताले उद्योग सञ्चालनमा सकारात्मक प्रभाव बताएका थिए ।
अर्थ सचिव डा. राजन खनालले पूँजीगत खर्च बढाएर बजारमा माग सृजना गर्ने, कानुनको सुधार मार्फत लगानीको वातावरण बनाउने, मूल्य अभिवृद्धिका आधारमा निर्यातकर्तालाई सहुलियत दिने विषयमा प्रोएक्टिभ भएर काम गरिरहेको बताए ।
अर्थ सचिव खनालले आत्मनिर्भरता तर्फ उन्मुख उद्योग तथा लगानी संकटमा नजाओस् भन्नेमा व्यवसायीहरुलाई स्वस्थ प्रतिस्पर्धामा जान र लगानी विविधिकरण गर्न सुझाव दिएका थिए । सरकारका तर्फबाट बजारमा माग बढाउन ठूला गेमचेञ्जर परियोजनाको काम तिब्र पार्ने गरी काम भइरहेको पनि अर्थ सचिव खनालले उल्लेख गरे । राष्ट्रिय योजना आयोगका सचिव लक्ष्मण अर्यालले समग्र आर्थिक सुधारको प्याकेज र शासकिय सुधारको प्याकेज लागू गर्न सकियो भने अर्थतन्त्रको दिगो सुधार हुन सक्ने भन्दै यसका लागि मिलेर काम गर्नु पर्ने अवस्था आएको बताए ।
सो अवसरमा वाणिज्य सचिव बैकुण्ठ अर्यालले भर्खरै भारत तर्फ पाम अयलको निर्यातमा अवरोध देखिना साथ मन्त्रालयले अग्रसरता लिएर समाधानको प्रयास थालेको, चीन तर्फको पारवहन सुविधा उपयोग गर्न व्यवसायीहरुलाई आग्रह समेत गरे । निर्यातजन्य वस्तुको उत्पादन बढाउन निकासी गृह निर्माणलाई गति दिएको, बल्क कार्गोका लागि विराटनगर र भैरहवा पनि खुला गरिएको तथा भारत तर्फ जलमार्ग उपयोगका सम्बन्धमा छिटै सम्झौता हुने पनि सचिव अर्यालले उल्लेख गरेका थिए ।
परराष्ट्र सचिव शंकरदास वैरागीले निर्यात व्यापार र पर्यटन अभिवृद्धिका लागि कुटनीतिक निकायहरुलाई परिचालन गरिएको बताउनु भयो । यसैगरि सगरमाथा सम्बाद मार्फत ऊर्जा र सम्रग विकासलाई जोडेर ग्रिन इकोनोमि निर्माणतर्फ रोड म्याप बनाउने तर्फ सघन सहकार्यका लागि पनि परराष्ट्र सचिवले जोड दिए ।
श्रम सचिव विनोद केसीले सामाजिक सुरक्षा कोषमा देखिएका समस्या समाधानका लागि प्रयास भइरहेको बताए । पर्यटन सचिव केदार बहादुर अधिकारीले पर्यटन वर्ष २०२० सफल बनाउन निजी क्षेत्रसँग थप सहकार्य गर्ने, पर्यटन पूर्वाधारको निर्माणमा गति दिन प्रयास भइरहेको र पर्यटन क्षेत्रमा हुने लगानीमा दिने सहुलियतका विषयमा छलफलमा रहेको बताए ।
लगानी बोर्डका कार्यकारी प्रमुख महाप्रसाद अधिकारीले वातावरणीय मापदण्डका नाममा निजी क्षेत्र मात्र नभएर सकारका विकास निर्माण प्रभावित भइरहेकाले यसको नीतिगत सुधारका लागि मिलेर काम गर्नु पर्ने बताए । निजी लगानीमैत्री वातावरण सृजनाका लागि अन्तर मन्त्रालय र निजी क्षेत्रबीच समन्वय हुनु पर्नेमा कार्यकारी प्रमुख अधिकारीले जोड दिए ।
उद्योग मन्त्रालयका सहसचिव दिनेश भट्टराईले उद्योगी व्यवसायी तथा लगानीकर्ताका लागि मन्त्रालयले सहजकर्ताको भूमिका निर्वाह गरिरहेको बताउनु भयो । एकल बिन्दु सेवाको प्रभावकारिता बढाउने, वातावरणीय मापदण्डमा लचकताका लागि प्रयास अन्तिम चरणमा पुगेको पनि सहसचिव शर्माले उल्लेख गरे ।
परिसंघका निवर्तमान अध्यक्ष हरि भक्त शर्माले निजी क्षेत्र र सार्वजनिक क्षेत्रले मिलेर काम गर्ने समय आएको, उद्योग व्यवसायमैत्री वातावरण सृजना गर्नु पर्ने, भूमि हदवन्दीमा अहिलेका गलत नीति सुधार हुनु पर्ने र उद्योग क्षेत्रले अघि सारेका समस्या तत्काल सम्बोधन गर्न उदार नीति तथा नियमावली बनाउन राजनीतिक नेतृत्वलाई प्रोत्साहित गर्न सचिवहरुलाई आग्रह गरे ।
सो अवसरमा परिसंघका उपाध्यक्षहरु विष्णु अग्रवाल, सुलभ अग्रवाल, निर्वाण चौधरी, विरेन्द्रराज पाण्डे, कृष्णप्रसाद अधिकारीले उद्योग तथा लगानी विस्तारका विषयमा प्रस्तुति गर्दैैैै औद्योगिकीकरणको वातावरण बनाउन तत्कालिन तथा दीर्घकालीन रणनीतिहरु अघि बढाउन आवश्यक रहेको बताए ।