बुटवल–पोखरा सडक विस्तार गरिने, २५ अर्ब लागत |
काठमाडौं । बुटवलदेखि पोखरासम्मको १ सय ५७ किलोमिटर सडक विस्तार हुने भएको छ । भारतको एक्जिम बैंकको आर्थिक सहयोगमा उक्त सडकमार्ग विस्तार हुने भएको हो । दुई लेनको भनिए पनि स्ट्यान्डर्ड दुई लेनमा नरहेको यो सडक विस्तारपछि सबै ठाउँमा स्ट्यान्डर्ड दुई लेनको हुने सडक विभागले बताएको छ ।
‘सडक विस्तारको लागि भारतको एक्जिम बैंकसँग मोटामोटी सहमती भएको छ,’ सडक विभागका विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए ।
उनकाअनुसार उक्त सडक विस्तारको डिजाइन यसअघि नै भइसकेको छ । २५ अर्ब लागत लाग्ने अनुमान गरिएको उक्त सडक–खण्डमा नयाँ पुल तथा मोड सुधार र सुरुङमार्ग पनि बन्नेछन् ।
‘भालु पहाडमा ५ सय मिटर भन्दा कम लम्बाइका ३ वटा टनेल बनाउने गरी सडकको डिजाइन भएको छ,’ उनले भने, ‘सडकमा केही टनेल तथा मोडमा सुधार गर्दा बाटो केही छोटो हुन जानेछ ।’
सडकमा दुई वटा नयाँ पुल पनि थपिने छ । थापाकाअनुसार राम्दी तथा धुन्सामा नयाँ पुल थपिने डिजाइनमा उल्लेख छ । सडक विभागको डिजाइनमा काम सुरु भएको तीन वर्षमा विस्तारको काम सकिने बताइएको छ।
एक्जिम बैंकसँग सडक विस्तारको लागि आधिकारीक सहमति भने भइसकेको छैन । तर, अबको केही समयमा सहमति हुनसक्ने थापाले बताए ।
‘उनीहरुले डिजाइन तथा वातावरणीय प्रभाव मूल्याङकन आदिको अध्ययन गरिरहेका छन्,’ थापाले भने, ‘उनीहरुलाई यो सबै चित्त बुझ्यो भने काम अघि बढ्ने हो । त्यसैले यसको लागि समय लाग्न सक्छ ।’
एक्जिम बैंक यस विषयमा सकारात्मक रहेकोले चाडै सहमती हुने सडक विभागले जानकारी दियो ।