चीनसँगको पारवहन सम्झौता कार्यान्वयनमा आयो |
काठमाडौं । नेपाल र चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयनमा आएको छ । सम्झौता कार्यान्वयनमा आएसँगै नेपालले चीनका सातवटा बन्दरगाह प्रयोग गर्न पाउने भएको छ ।
पारवहन सम्झौता कार्यान्वयनमा आएपछि नेपालले चीनका चारवटा सामुद्रिक र तीन वटा सुख्खा बन्दरगाह प्रयोग गर्ने बाटो खुलेको हो ।
उद्योग वाणिज्य तथा आपूति मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव बैकुण्ठ अर्यालका अनुसार अनुसार चीनका तियानजिन, लियनयुंगा, सेन्जेन र झानजियाङ गरी चारवटा सामुद्रिक बन्दरगाह नेपालले प्रयोग गर्नसक्ने छ ।
त्यसैगरी तीन सुख्खा बन्दरगाहहरु लन्झाउ, ल्हासा र सिगात्से पनि नेपालले प्रयोग गर्ने बाटो खुलेको छ । चीन तर्फका ६ वटा नाकाहरु प्रयोग गर्ने सहमति पनि भएको छ । रसुवा र तातोपानी (कोदारी) नाका यसअघि नै सञ्चालनमा आइसकेको छन् भने हुम्लाको यारी सुंखवासभाको किमाथाङ्का, मुस्ताङको नेचुङ (कोरला) र ताप्लेजुङको ओलाङचुङगोला गरी ६ वटा नाका व्यपारका लागि नेपालले प्रयोग गर्न सक्ने छ ।
भारतसँग भएको पारबाहन सम्बन्धि सन्धि पनि तत्कालका लागि नवीकरण भएको छ । सचिव अर्यालले सन्धिमा आवश्यक नयाँ कुरा थप गरेर पुनः सन्धि गर्ने तयारी मन्त्रालयले पुरा गरेको बताए ।
नयाँ सन्धि भएपछि नेपालले भारतको आन्तरिक जलमार्ग प्रयोग गरेर आयात निर्यात गर्न सक्ने छ । त्यसैगरी नेपाली ध्वजाबाहक पानी जहाज भारतीय आन्तरिक जलमार्गमा सञ्चालन गर्न पनि बाटो खुल्ने छ ।
सचिव अर्यालका अनुसार भारतको जलमार्गमा रहेका आन्तरिक तीनवटा टर्मिनलहरु साहेबगञ्ज, कालुघाट र बाराणसीबाट व्यापारिक वस्तुहरु आयात निर्यात गर्न सकिने छ, भने नेपालको ब्यापार लागत कम हुन्छ ।
भारतसँगको रेल्वे सम्झौताको म्याद पनि ५ वर्षका लागि थप भएको छ। नेपालले विराटनगर, वीरगञ्जबाट भारतको कोलकत्ता र हल्दियासम्म नेपाली रेल सञ्चालन गर्ने सम्वन्धमा सैद्धान्तिक सहमति भएको छ।
अघिल्लो आर्थिक वर्षको तुलनामा नेपालको व्यापार घाटामा पनि कमी आएको छ। आन्तरिक उत्पादन बढाएर वितरण प्रणालीमा सुधार हुँदा, उपभोग नगर्दा पनि हुने वा जनस्वास्थ्यमा हानी पुर्यारउने वस्तुहरुको आयातमा कडाई गरिएपछि ब्यापारघाटा कम भएको उनले बताए।
अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्षको पहिलो ५ महिनामा ६ प्रतिशतले व्यापार घाटा घटेको छ।