प्रदेश ३ को राजधानी हेटौंडा राख्ने प्रस्ताव दुई तिहाइ मतका साथ स्वीकृत | नाम अब ‘बागमती’
हेटौंडा । प्रदेश ३ स्थायी राजधानी हेटौंडा हुने प्रस्ताव पारित भएको छ । आइतबार बिहान प्रदेश नं. ३ को प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ स्थायी राजधानी हेटौंडा नै कायम गर्ने प्रस्ताव पास गरेको हो ।
आइतबार बिहान राजधानी हेटौंडा राख्ने प्रस्तावको पक्षमा भएको मतदानमा १०५ सांसदले पक्षमा मतदान गरे । ३ सांसदले भने हेटौंडा स्थायी राजधानी बनाउन नहुने पक्षमा मत जायर गरेका थिए ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले यसअघि नाम र राजधानीबारे निर्णय गरेको थियो । त्यहीँ निर्णयलाई प्रदेशसभा संसदीय दलले सदर गर्दै प्रदेशसभामा पेस गरेको थियो । जसमा प्रमुख विपक्षी नेपाली कांग्रेसँगै राप्रपा, राप्रपा संयुक्त र नेमकिपाले पनि समर्थन गरेका थिए ।
प्रदेशको नाम वागमती राख्न सहमत भएको विवेकशील साझा पार्टीले भने स्थायी राजधानी काभ्रेको धुलिखेल प्रस्ताव गरेको थियो । तर धुलिखेललाई राजधानी बनाउने प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेको छ ।
प्रदेश ३ को राजधानी काभ्रपलाञ्चोक हुनुपर्ने पक्षमा सत्तारूढ नेकपाका अधिकांश प्रदेशसभा सदस्य थिए । उनीहरुले प्रदेशसभामा प्रस्तावसमेत लगेका थिए । हेटौंडाको पक्षमा मकवानपुर, चितवन र सिन्धुलीका सदस्यमात्र थिए ।
तर नेकपा केन्द्रीय सचिवालयले हेटौंडा नै स्थायी राजधानी बनाउन प्रदेश कमिटीलाई निर्देशन दिएपछि नेकपाका सांसदले बाध्य भएर हेटौंडाको पक्षमा मतदान गरेका हुन् । कतिपय सांसदले पार्टी निर्णय नमान्ने चेतावनी दिए पनि अन्तिममा हेटौंडाको पक्षमा मतादन गरेका छन् ।
नेकपाले पार्टी निर्णय नमान्ने सांसदको पद जाने चेतावनी दिएको थियो । पार्टी्भित्र हेटौंडा राजधानी हुनु हुँदैन भन्नेमा दुई तिहाइ बहुमत भए पनि केन्द्रको निर्णय कार्यन्वयन गर्नुपर्ने बाध्यता आइलागेको प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले बताएकी छन् । सांसदहरुले अँध्यारो अनुहार लगाउँदै हेटौंडाको पक्षमा मतदान गरेका थिए ।
प्रदेशसभामा हेटौंडाको विपक्षमा विवेकशील पार्टीमात्र उभिएको छ । प्रदेशसभाका ११० सिटमध्ये सभामुख सानुकुमार श्रेष्ठले मतदान गरेनन् भने नयाँशक्तिबाट निर्वा्चित तर पछिल्लो समय स्वतन्त्र रहेका सांसद् प्रेम तामाङ मतदान प्रक्रियामा अनुपस्थित थिए ।
नाम ‘बागमती’
प्रदेश ३ को नाम बागमती कायम भएको छ । प्रदेशसभाको आइतबार बसेको दोस्रो बैठकले प्रदेशको नाम बागमती कायम गरियोस् भन्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित गरेको हो ।
नामाकरणबारे प्रदेशसभा बैठकमा एकमात्र प्रस्ताव परेको थियो । प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले प्रस्ताव गरेको उक्त प्रस्तावको पक्षमा १०८ मत परेको छ ।
प्रदेशसभामा उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा १०८ सांसद उपस्थित रहेकामध्ये सबै सांसदले प्रस्तावको पक्षमा मतदान गरेका थिए । प्रस्तावको विपक्षमा शुन्य मत परेको थियो ।
सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको नाम बागमती राखियोस् भन्ने प्रस्तावको पक्षमा दुई तिहाई मत पुगेकाले नाम बागमती कायम हुने घोषणा गरे ।