घलेम्दीखोला आयोजनाको ९२ प्रतिशत काम पूरा |

म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा निर्माणाधीन घलेम्दीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य करीब ९२ प्रतिशत सकिएको छ । ५ मेगावाट क्षमताको उक्त आयोजनाका पावरहाउस, पेनस्टक पाइप, सर्ज ट्याङ्कको काम तीव्रगतिमा भइरहेको छ ।
आयोजनाको मुख्य ड्याम, बालुवा थिग्य्राउने पोखरी, बाँध, नहर निर्माण, डिसेण्डर बेसिनलगायतको काम सकिएको कम्पनीका अध्यक्ष किशोर सुवेदीले बताए । पावर हाउसको काम ८० प्रतिशतको हाराहारीमा सम्पन्न भएको छ भने निर्माण सम्पन्न भएका क्षेत्रमा फिनिसिङको कार्य पनि भइरहेको छ । निजीक्षेत्रको पहलमा २०७१ देखि निर्माण थालिएको आयोजनाको विद्युत्गृहमा मेशिन जडान अन्तिम चरणमा पुगेको प्रबन्ध निर्देशक प्रमोद श्रेष्ठको भनाइ छ । उनका अनुसार १ हजार ७ सय मिटर सुरुङ जोडिएपछि दुवैतर्फ फिनिसिङको काम भइरहेको छ । सुरुङ हुँदै ल्याइएको घलेम्दीखोलाको पानीलाई १ सय ५० मिटरको उचाइबाट पावरहाउसमा खसालेर विद्युत् उत्पादन गरिन्छ ।
रू. ३८ करोड ५० लाख संस्थापक शेयर रहेको आयोजनामा १ हजार ३ सय जना संस्थापक शेयर छन् भने वित्तीय संस्थाबाट रू. ५५ करोड कर्जा लिइएको छ । घलेम्दीखोलाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । वार्षिक साढे १३ करोड रुपैयाँबराबरको विद्युत् खरीद गर्ने प्राधिकरणले वर्षायाममा ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा प्रतियुनिट विद्युत् खरीद गर्ने बताइएको छ । अन्नपूर्ण गाउँपालिकाकै दाना सबस्टेशन निर्माणाधीन रहेकाले र परीक्षण उत्पादनलाई केन्द्रीय प्रसारणलाइनमा जोड्न अहिले भएको क्षमताले पुग्ने भएकाले परीक्षणलगत्तै व्यावसायिक उत्पादन गरिनेछ ।