तिलगंगामा काठमाडौंकै नमुना सडक बनाउने तयारी, सडकमा हरियाली र स्वचालित बत्ती |
काठमाडौं । सडक विभाग आफैँले काठमाडौं चक्रपथको तिलगंगा–कोटेश्वर खण्ड विस्तार गर्ने तयारी गरेको छ । चिनियाँ सरकारले अनुदान सहयोगमा निर्माण गरेको कोटेश्वर–कलंकी खण्ड सुरक्षित र पैदलयात्रुमैत्री नभएको भन्दै चौतर्फी आलोचना भएपछि सरकारले एउटा खण्ड आफैंले डिजाइन गरेर निर्माण गर्न लागेको हो ।
कोटेश्वर–कलंकी पहिलो खण्ड (करिब १० किमि) ८ लेनमा विस्तार भएसँगै गलत डिजाइनमा निर्माण भएको भन्दै चौतर्फी आलोचना भएको थियो । प्रधानमन्त्री कार्यालयले संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं, डिभिजन सडक कार्यालय र सडक विभाग लगायतका निकायलाई बोलाएर छलफल गरेको थियो ।
छलफलमा एउटा खण्ड नमुनाका रूपमा नेपाल सरकारले बनाउने र बाँकी खण्ड चिनियाँकै सहयोगमा बनाउने निर्णय भएको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख राजेन्द्रराज शर्माले जानकारी दिए । चिनियाँले नै बनाउने भएपनि अब बन्ने कलंकी चाबहिल दोस्रो खण्ड र चाबहिल तिलगंगा तेस्रो खण्ड नयाँ डिजाइन छ ।
तिलगंगा–कोटेश्वर सडक करिब २.४ किलोमिटरको १२ लेनमा विस्तार गर्न लागिएको हो । चक्रपथको बाँकी खण्ड पनि १२ लेनकै भए पनि ८ लेन चिनियाँ सरकारको सहयोगमा र बाँकी दुईतिर बाहिरको दुईरदुई लेन नेपाल सरकार आफैंले बनाउन लागेको छ । नेपालको जिम्मामा रहेको काम अझै सुरू हुन सकेको छैन ।
यस्तो बन्नेछ सडक
यो सडक काठमाडौंकै नमुना सडक हुने दाबी गरिएको छ । सडक १२ लेनको हुनेछ । ४∕४ लेनको बीचमा मेडियन रहने छ । एउटा लेन ३.५ मिटरको हुनेछ । हाल विस्तार भएको चक्रपथमा बीचमा मेडियन छैन ।
मेडियनमा फूल र रुख विरुवा रोपेर ग्रीनरी बेल्ट बनाइने छ । मेडियनमा सडकको उज्यालोका लागि सडक बत्ती समेत राखिने छ । स्वचालित सडक बत्ती राख्न लागिएको छ । जुन दिनमा निभ्छ रातमा आफैं बल्छ ।
दुवैतर्फ चार∕चार लेनको क्यारिज–वे पछि ड्रेनेज रहने छ । त्यसपछि दुवैतर्फ ७∕७ मिटरको सर्भिस लेन रहने छ । जुन दुई∕दुई लेनको हुन्छ । सर्भिस लेनपछि ग्रीनरी बेल्ट रहने छ । यसमा पनि स्वचालित सडक बत्ती रहनेछ । जसमा विद्युतका तार,टेलिफोन,इन्टरनेट र केवल च्यानल लगायतका युटिलिटीजका तारहरू अण्डर ग्राउण्ड गरिने छ ।
आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । डिभिजन सडक कार्यालय काठमाडौंले डीपीआर तयार पारेको हो । जुन स्वीकृत हुने क्रममा छ ।
सार्वजनिक खरिद नियमावलीको पछिल्लो संशोधन अनुसार साइट क्लियर र आयोजनाको पूर्व तयारी नगरी ठेक्का निकाल्न पाइदैन ।
यो खण्डमा सडकको सेन्ट्रल लाईनबाट दुवैतर्फ १५∕१५ गरि ३० मिटर सडक कायम गरेर चक्रपथको ’राइट अफ(वे’ नै घटाइएको छ । राजाकै समयमा ’राइट अफ–वे’ घटाउने निर्णय भएको हो । करिब ६२ मिटरमा सडक तयार पार्दा थप ३२ मिटर जग्गा अधिग्रहण गर्नुपर्छ । त्रिभुवन विमानस्थलतर्फ सरकारी जग्गा मात्रै रहेकाले सहजै अधिग्रहण गर्न सकिने छ भने गैह्रिगाउँ तर्फको १६ मिटर अधिग्रहण गर्नुपर्नेछ ।
त्यो क्षेत्रमा निजी जग्गा र घर पर्छ । सरकारकै मूल्यांकनमै अधिकतम प्रति आना ६० लाख रूपैयाँ रहेकाले अधिग्रहणकै लागि मात्रै ८ अर्ब लाग्ने अनुमान छ । सडक विस्तारका लागि ८१ रोपनी निजी जग्गा र १८ हजार स्क्वायर फिट संरचना अधिग्रहण गर्नुपर्ने छ । जग्गा अधिग्रण ठेक्का सम्झौता सबै प्रक्रिया सकेर चार वर्षमा निर्माण सक्ने लक्ष्य राखिएको छ । साइट क्लियरका लागि लामो समय लाग्ने भन्दै चार वर्ष अवधि राखिएको हो ।