बैंकरलाई औद्योगिक वातावरण विगार्ने छुट छैन ː अर्थमन्त्री खतिवडा |
काठमाडौं । ब्याजदर निर्धारणमा अर्थमन्त्री डा. युवराज खतिवडाले दुई विकल्प दिएका छन् । ‘लामो समयदेखी ब्याजदरको विवाद चलिरहेको छ । मैले पटक–पटक भनिरहेको छु । अहिले ब्याजदर स्थीर छ,’ नेपाल निर्यात परिषद्को साधारणसभामा भने, ’ब्याजदर स्थीर राख्ने की बजारलाई छोड्ने भन्ने निर्णय गर्ने अधिकार तपाईँहरुसँग छ । तर ब्याजदर महँगो बनाएर औद्योगिक वातावरण विगार्ने छुट बैंकरलाई छैन ।’
खतिवडाले व्यापार घाटा घटाउन विभिन्न ऐन ल्याएको बताउँदै निकासी बढाउन उद्योगीले वस्तु विविधीकरण गर्न आवश्यक रहेको धारणा राखे। उनले कुनैपनि एउटा वस्तु निकासी गरेर विश्वमा प्रतिस्पर्धा गर्नै नसकिने जिकिर गरे । उनले विगतमा विदेशबाट ल्याएर वनस्पति घिउमा १२ प्रतिशत मात्रै मूल्य अभिवृद्धि गरेर भारत पठाउने गरेको बताउँदै त्यस्तो निर्यात सम्भव नभएकाले प्राकृतिक रुपमै अवसान भएको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले व्यापार घाटाको कहालीलाग्दो तथ्यांक रहेको बताए । उनले विश्व व्यापार संगठनको सदस्य भएपछि व्यापार घाटा थप भयाबह भएको बताउँदै अरु मुलुकले भने निकासी बढाएको बताए ।